लामो वहस र विवाद पछि ८ जना न्यायाधीशहरुको अनुमोदन

जेठ १२,काठमाडौ–सर्वोच्च अदालतको स्थायी न्यायधीशका लागि सिफारिस गरिएका न्यायधीशहरुको नाम लामो विवाद र वहस पछि अनुमोदन भएको छ । सोमबार सिंहदरबारमा संसदीय बिषेश समितिले मतदान मार्फत ८ जना न्यायाधीशहरुको नाम अनुमोदन गरेको हो । संसदीय सुनवाई सदस्यहरुबिच कुरा नमिले पछि न्यायाधीशको नाम सिफारिसका लागि मतदान गरिएको थियो ।
बिषेश समितिमा रहेका जम्मा ७२ जना सदस्यमध्य बैठकमा ६७ सदस्य सहभागि थिए । त्यसमध्ये ६४ जना सदस्यले मात्रै मतदानमा सहभागिता जनाएका थिए । समितिमा भएको मतदानमा न्यायाधीश द्वय बैद्यनाथ उपाध्याय र ओमप्रकाश मिश्रलाई सबै ६४ जना सदस्यलेनै अनुमोदनका पक्षमा मतदान गरेका छन् । अरु न्यायाधीश मध्ये दिपकराज जोशीको बिपक्षमा २५ मत परेको छ ।  चोलेन्द्र शमशेर जबराको बिपक्षमा २४ मत परेको छ । जोशीलाई र जबराको बिपक्षमा उभिने दलहरुमा नेकपा एमाले, एकीकृत माओवादी, नेकपा संयुक्त, समाजवादी जनता दल छन् । त्यस्तै राप्रपा नेपालले बैठकमा सहभागी भए पनि मतदान बहिस्कार गरेको छ । मजदुर किसान पार्टी न्यायाधीशहरुका बिषयमा तटस्थ बसेको थियो । अरु चार जना न्यायाधीशको बिपक्षमा भने १–१ भोट मात्र परेको छ । बाकी चार जनाको बिपक्षमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मात्र मत हालेका हुन् । न्यायपरिषद्ले सिफारिस गरेका न्यायाधीशहरुलाई अनुमोदन नगरी फिर्ता पठाउन भने दुई तिहाई मत बिपक्षमा पर्नु पर्ने कानूनी प्राबधान रहेको छ । कुनै पनि न्यायाधीशका बिपक्षमा दुई तिहाई मत नपरेकाले सबै न्यायाधीश सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस भएका छन् ।