संसदीय सुनुवाइ शुक्रबार, उजुरीकर्तासंगको छलफल आज

जेठ ७, काठमाडौ–सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस भएका ८ जनाको आगामी शुक्रबार संसदीय सुनुवाइ हुने भएको छ ।
संसदीय सुनुवाइ विशेष समितिको आज बिहान सिंहदरबारमा बसेको बैठकले सिफारिसमा परेका न्यायाधीशहरुलाई सुनुवाइका लागि शुक्रबार समितिमा बोलाउने निर्णय गरेको हो ।
यसका साथै बैठकले स्थायी न्यायाधीश विरुद्धका उजुरीकर्तालाई पनि सुनुवाईमा बोलाउने निर्णय गरेको छ । उजुरीकर्तालाइ भने आज अपराह्न्न चार बजे वोलाएर उजुरीबारे छलफल गर्ने संसदीय सुनुवाई समितिले निर्णय गरेको छ । समितिमा २२ वटा उजुरी परेको भए पनि ६ जना उजुरीकर्ता मात्रै सुनुवाईमा उपस्थित हुन तयार रहेको समितिका एक सदस्यले बताए । न्यायाधीशहरुलाई संसदीय सुनुवाई समितिमा बोलाउने बिषयमा लामो समयसम्म दलहरुबिच भएको विवाद निष्कर्षमा पुग्न सकेको थिएन । नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका मुख्य सचेतकहरुलेसमेत सहमति कायम गर्न नसकेपछि शीर्ष नेताहरुबीच छलफल भएको थियो । शीर्ष नेताहरुको गएराति बसेको बैठकले प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेपछि उजुरीकर्ता र सिफारिमा परेका आठ न्यायाधीशलाई बोलाउने बिषयमा सहमति भएको थियो । शीर्ष तहमा भएको सहमति बमोजिम आज समिति निर्णयमा पुगेको हो  ।