संसदीय सुनुवाइ समितिको वैठक एक घण्टा स्थगित

जेठ ६, काठमाडौ–संसदीय सुनुवाइ विशेष समितिको बैठक एक घण्टाका लागि स्थगित भएको छ ।
न्यायपरिषद्लाई पठाउने चिठीको भाषाका विषयमा सहमति हुन नसकेपछि बैठक एक घण्टाका लागि स्थगित भएको हो । नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका मुख्य सचेतकहरुले यस बीचमा छलफल गरी भाषामा सहमति गरेपछि बैठक पुन: बस्ने छ । बिहान साढे दश बजे एक घण्टाका लागि भन्दै स्थगित बैठक अझै सुरु हुन सकेको छैन ।
बिहान आठ बजेदेखि सिंहदरबारमा बसेको बैठकमा न्यायपरिषद्ले समितिलाई पठाउने लिखित जवाफका विषयमा छलफल भएको थियो ।
सुनुवाइ समितिमा सहमति हुन नसक्दा सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले सिफारिस गरेका आठ जना न्यायाधीशको अझै सुनुवाइ हुन सकेको छैन ।
संसदीय सुनुवाइ विशेष समितिले आज न्याय परिषद्लाई जवाफी पत्र पठाउने र सिफारिसमा परेका न्यायाधीशहरुको सुनुवाइका लागि मिति तोक्ने बताइएको छ ।