एमाओवादीको केन्द्रिय कमिटीले आज पूर्णता पाउने

जेठ ६, काठमाडौ–एकीकृत नेकपा माओवादीको  केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । आजको बैठकमा असन्तुष्ट नेता डाक्टर बाबुराम भट्टराई वरिष्ठ नेताको हैसियतमा सहभागी हुने बताइएको छ ।
भट्टराई पक्षधर नेताहरु केन्द्रीय समितिमा बस्न अस्वीकार गरेपछि एमाओवादी केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन । आजको बैठकले केन्द्रीय समितिलाई पूर्णता दिने बताइएको छ । त्यस्तै, पदाधिकारी, स्थायी समिति र पोलिट्ब्यूरोको संख्या पनि तय गरिने एमाओवादीले जनाएको छ ।
विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनदेखि नै भट्टराई पक्ष असन्तुष्ट छ । भट्टराईसहित उनी पक्षधर नेताहरुलाई पनि आज केन्द्रीय समितिमा लगिने जनाएको छ । यसैबीच, एमाओवादी नेता अग्नीप्रसाद सापकोटाले डा बाबुराम भट्टराईले चाहे अनुसारको स्थान दिन पार्टी तयार रहेको बताउनु भएको छ । एक संचारमाध्यमसंग कुरा गर्दै सापकोटाले आज बस्ने केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई पूर्णता दिने बताउनुभयो ।