बुद्ध जयन्ती देशभर मनाइदै, धार्मिक स्थलहरुमा अनुयायीहरुको घूइचो

वैशाख ३१, काठमाडौ– आज २५५८ औा बुद्ध जयन्ति हो । हरेक वर्ष आजको दिन बुद्ध जयन्ति मनाउने गरिन्छ । शान्तिका दुत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्माण भएको दिनका रुपमा बिबिध कार्यक्रम गरी देशभर मनाइदैछ ।
कसैलाई दुख नदिनु, ब्यभिचार, चोरी, असत्य नबोल्नुजस्ता बुद्ध वचनलाई पालना गरे मानव जीवन सार्थक हुने विश्वास रही आएको छ । यहि विश्वास वोकेर बिहानै देखि देशभरका बौद्ध स्तूपा, गुम्बा, बिहार,बौद्ध गोन्पा लगायतका धार्मिक स्थलहरुमा बुद्धका अनुयायीहरुको बिहानै देखि घूइचो लागेको छ ।
बुद्ध जयन्तिका अवसरमा राजधानीको स्वयम्भूमा बिशेष मेला लाग्ने गर्दछ । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा रानी वनमा क्रीडा गर्दै गरेका अवस्थामा लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको बौद्ध ग्रन्थ ललितविस्तर सूत्रमा व्याख्या गरिएको छ ।
राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएका विभिन्न दु:ख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्कनु भएको थियो । ईसा पूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धले बुद्धगयास्थित पीपलको रुख मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालिएको हो ।
दु:खलाई नाश गर्न तृष्णा क्षय गर्ने ८ वटा मार्ग छन् भनी गौतम बुद्धले ज्ञान दिनुभएको छ । दिवसकै अवसरमा आज सरकारले सार्वजनिक विदा समेत दिएको छ ।