युक्रेनका सरकारी भवनहरु हतियारधारीको कब्जामा

वैशाख १७, एजेन्सी– पूर्वी युक्रेनका धेरैजसो सरकारी भवनहरु रुसी समर्थक हतियारधारीले कब्जामा लिएका छन् । रुस समर्थक पृथकतावादीहरुको ठूलो समूहले लुहान्स्क शहरको क्षेत्रीय प्रशासनिक मुख्यालय समेत कब्जामा लिएको अधिकारीहरुले बताएका छन् ।
सरकारी भवनहरु कब्जामा लिएपछि उनीहरुले रुसका झण्डा राखेको र कार्यालय प्रयोग गर्न नमिल्ने गरी तोडफोड गरेको बताईएको छ । रुस समर्थक प्रदर्शनकारीहरुले युक्रेनका बिभिन्न सहरमा निरन्तर सरकारी कार्यालय कब्जाको क्रम जारी राखेका छन् ।
प्रदर्शनकारीहरुले अमेरिका र युरोपेली संघले रुसमाथि लगाएको कडाप्रतिबन्धको बिरोध गर्दै नाराजुलुस गरेका थिए ।
यस अघि युक्रेनको अस्थिरताका लागि रुसको हात रहेको भन्दै युरोपेली युनियन र अमेरिकाले रुसबिरुद्ध कडा प्रतिबन्धको घोषणा गरेका थिए ।
उता रुसका उप–विदेशमन्त्री सर्गेई रियाबकोफले युरोपेली संघ अमेरिकाको दबाबमा रहेको पुष्टी भएको आरोप लगाएका छन् ।
युरोपेली संघले रुसका उपविदेशमन्त्री सहित १५ बरिष्ठ अधिकारीलाई प्रतिबन्ध लगाएको छ । पछिल्लो समय युरोपेली संघले रुसी सेनाका चिफ अफ स्टाफ र अनुसन्धान बिभागका निर्देशकमाथि पनि प्रतिबन्धको सूचिमा समावेश गरेको छ । कडा प्रतिबन्ध पछि रुसको विदेशमन्त्रालयले युरोपेली संघ पनि वासिंटनको भाषा बोलीरहेको आरोप लगाएको छ ।