चुनावी हिंसामा भारतमा ६ जनाको मृत्यु

वैसाख १२, एजेन्सी–भारतमा भएको चुनावी हिंसामा झारखण्डमा ५ र कास्मिरमा १ गरी ६ जनाको मृत्यु भएको छ । हिजो झारखण्डमा मतदान सकेर फर्किादै गरेका सुरक्षाकर्मीहरु माओवादीले थापेको विद्युतीय धरापमा पर्दा ५ जनाको मृत्यु भएको हो ।
घटनामा थुप्रै सुरक्षाकर्मी घाइते भएकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ । भारतीय माओवादीले निर्वाचनलाई धोका भन्दै बिथोल्ने चेतावनी दिंदै आएको थियो ।
यस्तै, कस्मिरमा अज्ञात बन्दुकधारीको आक्रमणमा एक मतदान अधिकृतको मृत्यु भएको छ । भारतमा हिजो छैटौ चरणको निर्वाचन अन्तर्गत ११ राज्यका १ सय १७ सीटका लागि मतदान भएको थियो । मे १२ सम्म मतदान भइ १६ तारिखबाट मत गणना गरिने निर्वाचन आयोगले जनाएको छ । भारतीय लोकसभाको ५ सय ४३ सीट मध्ये बहुमत ल्याइ सरकार बनाउने पार्टीले २ सय ७२ सिट जित्नुपर्ने हुन्छ ।