बजेट ऊर्जामैत्री हुनुपर्छ–मन्त्री ज्ञवाली

वैसाख ९, काठमाडौं– ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले मुलुकको आर्थिक विकास र स्थायित्वका लागि ऊर्जा क्षेत्रमा हाल उपलब्ध गराइएकोभन्दा तेब्बर बजेट उपलब्ध गराउनुपर्ने बताएकी छिन् । उनीले ऊर्जा सङ्कटका कारण मुलुकको हरेक क्षेत्र प्रभावित भएकाले बजेटमा बढोत्तरी जरुरी रहेको बताइन् ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि ऊर्जा मन्त्रालयलाई ३० अर्ब रुपैयाा बराबरको मात्रै ‘बजेट सिलिङ’ तोकेको छ । आयोगले तोकेको सिलिङ हेर्ने हो भने ऊर्जा क्षेत्रको विकास र विस्तार हुन नसक्ने भएकाले बजेट तेब्बर उपलब्ध गराउन सबैको साथ तथा सहयोग रहनुपर्नेमा उनको जोड थियो । “चालु आवमा भन्दा केवल १० प्रतिशतमात्रै बढी बजेट उपलब्ध गराउने भन्ने आयोगको सीमा मिल्दैन, यसलाई सच्याउनुपर्छ”, मन्त्री ज्ञवालीले भनीन् । चालु आवमा अर्थ मन्त्रालयले ऊर्जालाई मात्रै २४ अर्ब रुपैयाा बजेट उपलब्ध गराएको थियो । बजेटको अभावका कारण ठूला आयोजनाको कामसमेत अगाडि बढ्न नसकेको अवस्थामा आयोगले पनि मुलुकको अवस्थालाई हेरेर निर्णय गर्नुपर्ने मन्त्री ज्ञवालीको भनाइ छ ।
ऊर्जाको अभावमा विकास निर्माण, पूर्वाधारको विकास, पर्यटन, होटल व्यवसायमा समेत उल्लेख्य विकास हुन नसकेको अवस्थामा लगानी बढाउनुपर्ने आवश्यकता छ, सरकारले आगामी आवमा प्रस्तुत गर्ने बजेट ऊर्जामैत्री हुनुपर्छ– मन्त्री ज्ञवालीको भनाइ छ । विद्युत्भार कटौतीका कारण मुलुकको हरेक क्षेत्र प्रभावित भइरहेको अवस्थामा बजेट बढाउन सकियो भने मात्रै देखिनेगरी केही काम हुन सक्छ भन्दै मन्त्री ज्ञवालीले अगाडि बढेका ठूला तथा मझौला आयोजनालाई पनि समयमै सम्पन्न गराउनका लागि थप बजेट आवश्यक रहेको बताइन् । रासस