पूर्व राजाद्वारा महाकुम्भमा स्नान

वैशाख २, इटहरी–पूर्व राजा ज्ञानेन्द्र शाहले दोस्रो महाकुम्भ स्थलमा सहभागी भई आज स्नान गर्नुभएको छ ।सुनसरी जिल्लोका बराहक्षेत्रस्थित चतराधाममा सञ्चालित दोस्रो महाकुम्भ स्थलमा स्नान गरी धार्मिक अनुष्ठान समारोहमा सहभागी हुनुभयो । सो अवसरमा पूर्व राजा ज्ञानेन्द्रले हिन्दू धर्म विश्वकै महान र उदार धर्म रहेको बताउँदै अध्यात्म जीवन पद्धति विश्वकै निम्ति अनुकरणीय रहेको उल्लेख गर्नुभयो ।धर्मले राष्ट्रको अखण्डता, एकता, सहिष्णुता तथा सामाजिक सद्भाव वृद्धि गर्ने बताउँदै धर्मले विशेष स्थान ओगट्दै आएको बताउनुभयो । सोही समारोहमा बराहक्षेत्रका पीठाधीश एवम् कुम्भको प्रवर्तक बालसन्त मोहनशरण देवाचार्यले देशका उच्च ओहदा धारण गरेका व्यक्तित्वबाट कुम्भमेलाप्रति देखाइँदै आएको सद्भाव र सहयोगकै कारण आज नेपाल भूमि हिन्दू जागरणको उर्बर भूमिका रुपमा पूजनीय बन्दै गएको बताउनुभयो ।