प्रशासनकै कर्मचारीबाट वन अतिक्रमण

nuwakot ramhari photoबैशाख २, नुवाकोट–नुवाकोटमा सरकारी कर्मचारीबाट नै सामुदायिक वनको अतिक्रमण भएको छ । जिल्लाको विभिन्न ७६ स्थानका एक सय भन्दा वढी हेक्टर क्षेत्रफल सामुदायिक वन अतिक्रमणमा भएकोमा त्यसमा सरकारी कर्मचारीहरुको समेत संलग्नता पाइएको हो । जिल्ला प्रशासन कार्यालय नुवाकोट अगाडीको सामुदायिक वन प्रशासनकै कर्मचारी तथा सरकारी कार्यालयहरुले अतिक्रमण गरेका छन् । वनदेवी सामुदायिक वनमा जिल्ला प्रशासन कार्यालय नुवाकोटका कर्मचारीहरुले अतिक्रमण गरी घर टहर बनाउदैं आएका छन् । प्रशासन अगाडी आफ्नै कर्मचारीबाट सामुदायिक वनको अतिक्रमण भएको गुनासो आएको स्वीकार्दै प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेतले छानबिन गरेर हटाउन पहल गर्ने आश्वासन दिनुभयो । सामुदायिक वनको अतिक्रमण गरी भवन निर्माण गरेको स्वीकार्दै कार्यालयले राजनीतिक दबाबले हटाउन गाह्रो भएको बताउदैं आएको छ । अतिक्रमित वन हटाउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति गठन हुने निर्देशिकामा रेहेपनि अहिलेसम्म नुवाकोटमा समिति नै गठन हुन सकेको छैन । नुवाकोटमा प्रारम्भिक तथ्याङ अनुसार एक सय दुई हेक्टर क्षेत्रफल वन अतिक्रमण भएको जिल्ला वन कार्यालयले जनाएको छ । अतिक्रमण भएको पुष्टि भइसकेको र नया खोजी हटाउन स्थानीय विकास अधिकारी अध्यक्ष रहेको जिल्ला वन समन्वयन समितिलाई जिम्मा दिन लागिएको वन अधिकृत भरतबाबु श्रेष्ठले जानकारी दिनुभयो । नुवाकोटको तीन सय ४४ सामुदायिक वन मध्ये त्यसको आधा जति वन अतिक्रमणमा परेको अनुमान जिल्ला वन कार्यालयले गरेको छ ।