शिक्षकहरूलाई शिक्षामन्त्रीको आग्रह

चैत्र २७,पाल्पा– शिक्षामन्त्री चित्रलेखा यादवले जागिर खाने मानसिकताभन्दा देशका लागि योगदान गर्दै छु भन्ने भावनाबाट काम गर्न शिक्षकहरूलाई आग्रह गर्नु भएको छ ।
पाल्पाको गेझामा रहेको जनकल्याण उच्चमाविको स्वर्ण महोत्सवको समापन गर्दै उनले शिक्षक समाजको माग दर्शक भएकाले जिम्मेवारीवोध गरी सेवाको भावनाले प्रेरित हुनु पर्नेमा जोड दिनु भयो । विद्यार्थीको भविश्यका आधारमा मुलुकको भविश्य निर्धारण हुने भएकाले विद्यार्थीलाई पढाउँदै गर्दा मुलुकलाई पनि सघाउँदै गरेको कुरा नभुल्न शिक्षामन्त्री यादवले शिक्षकहरूको ध्यानाकर्षण गराउनु भयो ।
उनले मुलुकलाई अहिले देशप्रति माया बढाउने शिक्षाको आवश्यकता रहेकोमा जोड दिनुभयो । ‘शिक्षाले साक्षर मात्र बनाउने नभई मुलुकका लागि योगदान दिनसक्ने र सार्थक जीवन चलाउन सक्ने बनाउनु पर्छ,’ शिक्षामन्त्री यादवले भन्नु भयो, ‘अहिलेको पाठ्याक्रम र शिक्षण प्रणाली सुधार गर्नु आवश्यक छ ।’ अहिलेको शैक्षिक नीति र व्यवस्थापनमा धेरै कमजोरी रहेको स्वीकार गर्दै शिक्षामन्त्री यादवले शैक्षिक सुधारका लागी सबैसँंग दबाब र सहयोगको आग्रह गर्नुभयो ।