अनुशासन आयोगद्वारा छानविन सुरु

चैत २१, काठमाडौ – नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगको हिजो वसेको बैठकले संविधानसभा निर्वाचनका सन्दर्भमा विभिन्न व्यक्ति, निर्वाचन क्षेत्र र जिल्लाबाट प्राप्त उजुरी तथा निवेदनमाथि अनुसन्धान र छानविन गर्न पार्टी केन्द्रीय कमिटिको अनुरोधपछि छानविन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ । बैठकले पार्टीको नवौं राष्ट्रिय महाधिवेशनमा आयोगको तर्फबाट प्रस्तुत गर्ने प्रतिवेदन तयार गर्न आयोगका अध्यक्ष अमृतकुमार बोहराको संयोजकत्वमा दस्तावेज मस्यौदा समिति गठन गरेको पार्टीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसैगरी महाधिवेशनमा पेस गर्ने विधान संशोधन प्रस्ताव तयार गर्न पनि सुझाव समिति गठन गरिएको बताइएको छ । बैठकले पार्टी विधानको व्यवस्थाअनुसार केन्द्रीय कमिटिका पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय निकायका सम्पूर्ण सदस्यको सम्पत्ति विवरण अद्यावधिक गर्न र संविधानसभाका सदस्य एवम् पार्टीको तर्फबाट सरकारमा पठाइएका उपप्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण तोकिएको समयमा आयोगलाई बुझाउन निर्देशित गर्ने निर्णय गरेको छ ।