घरेलु उद्योगको विकासका लागि स्थानीय निकायमार्फत कार्यक्रम अगाडि बढाइने – उपप्रधानमन्त्री सिंह

चैत्र १८, काठमाडौ –उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले उद्यमीको क्षमता अभिवृद्धि र उद्योग विकासका लागि स्थानीय निकायमार्फत कार्यक्रम अगाडि बढाइने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका प्रतिनिधिसँगको भेटमा मंगलबार उहाँले साना उद्योगको विकासबिना मुलुकको अर्थतन्त्रको विकास तीव्र नहुने भन्दै स्थानीय तहबाट नै उद्यमीको हितमा क्षमता वृद्धि र बजारीकरणका लागि कार्यक्रमलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उपप्रधानमन्त्री सिंहले मुलुकको अर्थतन्त्रमा लघु, घरेलु तथा साना उद्योगको भूमिका महत्वपूर्ण रहेकाले उद्यमीले उत्पादन गरेका सामानको बजारीकरण गर्न सरकारले अन्तर्राष्ट्रियस्तरको प्रर्दशनी हल निर्माण गर्ने योजना बनाएको जानकारी दिनुभयो । महासङ्घका अध्यक्ष सुरेश प्रधानले स्थानीयस्तरमा उपलब्ध हुने सीप, श्रोत र साधनको उपयोग गरी लघु, घरेलु तथा साना उद्योग सञ्चालन हुने हुँदा स्थानीय निकाय जिविस, नगरपालिका तथा गाविससँग उद्योग र उद्यमीको हितमा काम गर्न र योजना निर्माणका लागि महासङ्घलाई तत्काल आमन्त्रित सदस्य राख्नुपर्ने माग गर्नुभयो । स्थानीय स्वायत्त शासन ऐन २०५५ र नियमावली २०५६ ले स्थानीय निकायलाई मानव संशाधन, गरिबी निवारण, रोजगारी सिर्जना र उद्यमशीलता विकास शिर्षकअन्तर्गत लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन कार्यक्रम सञ्चालनका लागि निश्चित बजेट विनियोजन गर्नुपर्ने उल्लेख गरेको छ ।