बालविकास केन्द्रलाई प्रभावकारी बनाइने

फागुन २६, नेपालगन्ज– बाँकेमा संचालित प्रारम्भिक बालविकास केन्द्रलाई प्रभावकारी बनाउनका लागि एकीकृत कार्यक्रम संचालनका लागि सरोकारवालाहरुले रणनिति तयार पार्दैछन । संयुक्त रणनिति निर्माणका लागि नेपालगन्जमा प्रारम्भिक बाल स्याहार तथा विकास कार्यक्रमको आयोजना गरि सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुले रणनिति निर्माणमा लागेका हुन । प्रारम्भिक बालविकास केन्द्रलाई दिगो र केन्द्रमा सहभागीता जनाउने बालबालिकाहरुको चौतर्फी बिकासमा सहयोग पुर्याउन जिल्लास्थित सरकारी गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुले बालविकासका लागि संचालन हुने सबै कार्यक्रमहरु एकद्धार प्रणालीबाट संचालन गर्नुपर्नेमा उनीहरुको जोड छ । बालविकास केन्द्रको पाँच वर्षे रणनितिलाई प्रयोगमा ल्याउने, शिक्षा स्वास्थ्यलाई एकिकृत रुपमा संचालन गर्न, र बाल स्याहार तथा बिकास कार्ययोजना निर्माण गर्ने उद्देश्यले जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, र प्लान नेपालको संयुक्त समन्वय सहकार्यमा गेरुवाले उक्त कार्यक्रमको आयोजना गरेको हो ।