को–को छन् शीर्षनेताका प्रतिद्वन्द्वी

असोज, १८  काठमाडौं । संविधानसभाको निर्वाचनका लागि प्रमुख दलका सबै शीर्ष नेताले उम्मेदवारी दिएका छन् । केही साना दलका प्रमुख नेता भने प्रत्यक्षतर्फ उम्मेदवारी दिन हच्चिएका छन् । प्रमुख दलका शीर्ष नेताहरूले उम्मेदवारी दिएकामध्ये अधिकांश क्षेत्रमा अन्य पार्टीका तल्लो तहका नेताहरू प्रतिस्पर्धी छन् । तर कुनै क्षेत्रमा दलका प्रमुख नेताहरू नै भिड्ने देखिएको छ ।


एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग काठमाडौं १० मा एमालेका सुरेन्द्र मानन्धर, कांग्रेसका राजेन्द्रबहादुर केसी प्रतिस्पर्धी छन् । यसअघि दाहालले नै जितेको यो क्षेत्रमा कांग्रेसका केसी पुराना र एमालेका मानन्धर नयाँ उम्मेदवार हुन् । यही क्षेत्रमा दाहाललाई नै झापड हानेर चर्चामा आएका पूर्वएमाओवादी कार्यकर्ता पदम कुँवरदेखि रेस्लर भरतबहादुर विसुरालसम्म स्वतन्त्र प्रतिस्पर्धा गर्न उठेका छन् । दाहालसँग सिरहा ५ मा कांग्रेसका रामपरि यादव, एमालेका लीलनाथ श्रेष्ठ प्रतिस्पर्धी छन् ।

माओवादीमा शीर्षमध्येका नेता पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग गोरखा १ मा कांग्रेसका किरणबाबु श्रेष्ठ र एमालेका रामशरण श्रेष्ठ प्रतिस्पर्धी छन् । प्रतिस्पर्धी पार्टीका दुवै उम्मेदवार नयाँ हुन् । यसअघि भट्टराईले गोरखा २ बाट चुनाव जिते पनि यसपटक क्षेत्र परिवर्तन गरी १ मा उम्मेदवारी दिएका हुन् । भट्टराईसँग रूपन्देही ४ मा एमालेका सचिव विष्णु पौडेलसँग भिडन्त हँुदैछ । त्यहाँ कांग्रेसका सूर्यप्रसाद प्रधान पनि भट्टराईको प्रतिस्पर्धी हुनेछन् । एमाले पकड मानिएको उक्त क्षेत्रमा यसअघि एमालेका सचिव पौडेलले नै चुनाव जितेका थिए ।

एमाओवादीका नारायणकाजी श्रेष्ठसँग मकवानपुर २ मा कांग्रेसका जयराम लामिछाने र एमालेका सुवासचन्द्र ठकुरी प्रतिस्पर्धा गर्दैछन् । तीनैजना नयाँ उम्मेदवार भए पनि त्यहाँ यसअघि एमाओवादी पहिलो र श्रेष्ठको पुरानो पार्टी जनमोर्चा नेपाल तेस्रो भएका थिए । अहिले दुवै पार्टी एक भएकाले श्रेष्ठले उक्त क्षेत्र रोजेका हुन् । एमाओवादीका पूर्वमहासचिव पोस्टबहादुर बोगटीसँग नुवाकोट ३ मा बहादुरसिंह तामाङ एमालेका नारायण खतिवडाको प्रतिस्पर्धा हुँदैछ । यो क्षेत्रमा पहिले बोगटीले जितेका थिए ।

कांग्रेस सभापति सुशील कोइरालाको चितवन-४ मा आफ्नै पार्टीका विकास कोइराला बागी उठेका छन् । त्यहाँ उनको एमाओवादीका चित्रबहादुर श्रेष्ठ र एमालेका दीलकुमारी रावल प्रतिस्पर्धी छन् । यसअघि एमाओवादीले जितको यो क्षेत्रमा कोइराला पहिलो पटक उठ्न लागेका हुन् । कोइरालाले बाँके ३ मा एमाओवादीका दामोदर आचार्य र एमालेकी विजया धितालसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । उक्त क्षेत्रमा यसअघि मधेसी जनअधिकार फोरमले जितेको थियो ।

कांग्र्रेस वरिष्ठ नेता शेरबहादुर देउवासँग डडेलधुरामा एमाओवादीका खगराज भट्ट र एमालेका तारा जोशी र कैलाली ६ मा एमाओवादी लीला भण्डारी र एमालेका महेश्वर पाठक प्रतिस्पर्धी छन् । डडेलधुरामा पहिलेदेखि जित्दै आएका देउवा कैलालीमा पहिलो पटक उठेका हुन् ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलसँग तनहुँ २ मा एमाओवादीका ओमराज आले र एमालेका कृष्णकुमार श्रेष्ठ प्रतिस्पर्धा छन् । सधैं पौडेलले जित्दै आएको यो क्षेत्रमा कांग्रेसकै पूर्णबहादुर गुरुङ बागी उम्मेदवार बनेका छन् ।

कांग्रेस महामन्त्रीद्वय कृष्ण सिटौलासँग झापा ३ मा एमाओवादीकी धर्मशिला चापागाईं र एमालेका वसन्त बानियाँ, प्रकाशमान सिंहसँग काठमाडौंमा एमाओवादीकी रेणु दाहाल, एमालेकी विद्या न्यौपानेदेखि राप्रपा नेपालका भरत जंगमसम्म प्रतिस्पर्धी छन् । सिटौलाले यसअघि झापा ३ चुनाव हारेका थिए भने काठमाडौं १ सिंहले यसअघि जितेको क्षेत्र हो ।

एमाले अध्यक्ष झलनाथ खनालसँग इलाम १ मा एमाओवादीका युवराज पौडेल र कांग्रेसका हिमालय कर्माचार्य प्रतिस्पर्धी छन् । गत चुनावमा खनाल यो क्षेत्रमा जितेका थिए । सर्लाही १ मा पनि यसपालि उम्मेदवारी दिएका अध्यक्ष खनालसँग एमाओवादीका शम्भु श्रेष्ठ र कांग्रेसकी सुशीला कार्की प्रतिस्पर्धी छन् । यो एमालेले जित्दै आएको क्षेत्र हो ।

एमाले वरिष्ठ नेता माधव नेपालसँग रौतहट १ मा एमाओवादीका राजकिशोर यादव र कांग्रेसका सन्तलाल साह उठेका छन् । संघीय सद्भावनाका अध्यक्ष अनिल झा र यसअघि स्वतन्त्र चुनाव जितेका बबन सिंह फोरम नेपालकातर्फबाट नेपालसँग भिड्ने भएका छन् । नेपालको काठमाडौं २ मा एमाओवादीका लीलामणि पोखरेल र कांग्रेसकी प्रतिमा गौतमसँग प्रस्पिर्धा हुनेछ । रौतहट र काठमाडौं दुवै क्षेत्रमा यसअघि नेपालले चुनाव हारेका थिए ।

एमाले नेता केपी ओलीसँग झापा ७ मा एमाओवादीका कोचिला इन्चार्ज गोपाल किराँती प्रतिस्पर्धामा उत्रिएका छन् । त्यहाँ कांग्रेसका सुरेश सुब्बा पनि ओलीका प्रतिस्पर्धी छन् । यसअघि ओलीले एमाओवादीसँग उक्त क्षेत्रमा चुनाव हारेका थिए । उपाध्यक्ष वामदेव गौतमसँग बर्दिया १ मा एमाओवादीका भूवनकुमार थारू र कांग्रेसका भूवनेश्वर थारू प्रतिस्पर्धी बनेका छन् । यसपटक पुरानो गृह जिल्ला प्यूठान १ मा समेत उठेका गौतमसँग एमाओवादीका नवराज सुवेदी र कांग्रेसका हुकुमबहादुर विष्ट पनि प्रनिस्पर्धामा छन् । बर्दिया १ र प्यूठान १ दुवै यसअघि माओवादीले जितेका क्षेत्र हुन् । एमाले महासचिव ईश्वर पोखरेलका काठमाडौं ५ मा कांग्रेसका नरहरि आचार्य र एमाओवादीका महेन्द्र श्रेष्ठ प्रतिस्पर्धी छन् । पोखरेलले यसअघि कांग्रेसका आचार्यसँग यही क्षेत्रमा चुनाव हारेका थिए । आचार्यसँगै पोखरेलको प्रतिस्पर्धा हुने भएको छ । पूर्वसभामुख एमाले नेता सुवास नेम्बाङसँग इलाम २ मा एमाओवादीका रमेशकुमार लिङदेन र कांग्रेसका शेषराज आचार्य भीडदै छन् ।

सचिव शंकर पोखरेलसँग दाङ ४ मा एमाओवादीका रामजी चौधरी र कांग्रेसका बुद्घरिाम भण्डारी प्रतिस्पर्धी छन् । यो यसअघि एमाओवादीले जितेको क्षेत्र हो । यसअघि त्यही क्षेत्रबाट चुनाव जितेका सचिव विष्णु पौडेलसँग रूपन्देही ४ मा एमाओवादीका नेता बाबुराम भट्टराई नै प्रतिस्पर्धामा उत्रिएका छन् ।

मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसँग सुनसरी ५ मा एमाओवादीका नन्दन दत्त, कांग्रेसका जमिम इस्तिक र एमालेका जगदीश कुसियत प्रतिस्पर्धी छन् । दत्त अघिल्लो चुनावमा यादवकै पार्टीका नेता थिए । यादवसँग मोरङ ५ मा एमाओवादीका बालेश्वर कामत, कांग्रेसका अमृत अर्याल र एमालेका रामलाल साह प्रतिस्पर्धी छन् ।

तमलोपाका अध्यक्ष महन्थ ठाकुरको सर्लाही ६ मा एमाओवादीका नन्दलाल राय, कांग्रेसका अमरेशकुमार सिंह र एमालेका बिना ठाकुर छन् । सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव सर्लाही ४ मा प्रतिस्धर्पा गर्दैछन् । दुवै पार्टीका अध्यक्ष नै भिड्न लागेको उक्त क्षेत्रमा एमाओवादीका रामकिशुन राय, कांग्रेसका लक्ष्मण राय र एमालेका राजनारायण साह पनि प्रतिस्पर्धी छन् ।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको सुनसरी ३ मा एमाओवादीका हदर अली, कांग्रेसका गोमा पराजुली र एमालेकी भवगती चौधरी तथा मोरङ ७ मा एमाओवादी गोपाल कटुवाल, कांग्रेसका शेखर कोइराला र एमालेका यशोदा अधिकारी प्रतिस्पर्धी छन् । यसअघिका दुबै क्षेत्रमा गच्छदारले जिते पनि उपचुनावमा मोरङ ७ मा कांग्रेसका कोइरालाले जितेका थिए । राष्ट्रिय मधेस समाजवादीका अध्यक्ष शरतसिंह भण्डारीसँग महोत्तरी १ मा एमाओवादीका गिरीराजमणि पोखरेल, कांग्रेसका चिरञ्जीवी हमाल र दुर्गा दाहाल प्रतिस्पर्धी छन् । यो यसअघि एमाओवादीका पोखरेलले जितेको क्षेत्र हो । भण्डारीले जितेको महोत्तरी ६ मा योपटक एमाओवादीका भरतप्रसाद साह, कांग्रेसका सीताराम भण्डारी र एमालेका कौशीलाल यादव प्रतिस्पर्धी छन् ।

नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेसँग भक्तपुर १ मा कांग्रेसका कृष्णलाल भडेल, एमाओवादीका सानु सुवाल र एमाले रञ्जु नापित छन् । यो वर्षैदेखि विजुक्छेले जित्दै आएको क्षेत्र हो । ठूला दलका शीर्ष नेता प्रायः सबै उठे पनि साना प्रमुख नेताहरू यसपटक प्रत्यक्षतर्फ उठ्न हच्किए । पार्टीका अध्यक्ष र प्रभावशाली नेताहरू पनि उठेनन् । प्रत्यक्षमा उठ्दा हार्ने सम्भावना रहने भएकाले अधिकांशले समानुपातिकतर्फ सिट सुरक्षित गर्न उम्मेदवारी नदिएका हुन् । राप्रपाका अध्यक्ष सूर्यबहादुर थापा धनकुटाबाट उठ्दै आएका थिए । उनले यसपटक उम्मेदवारी दिएनन् ।

राप्रपाकै पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले पनि प्रत्यक्षमा नउठेर आफूलाई सुरक्षित बनाउन खोजे । राप्रपा नेपालका कमल थापा यसअघि मकवानपुर काठमाडौं दुई स्थानबाट उठेका थिए, यसपटक उनले कुनै स्थानबाट प्रत्यक्षमा उम्मेदवारी दिएनन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उम्मेदवारी दिएनन् । केसीले बागलुङबाट चुनाव जित्दै आएका थिए । एमालेमा रहँदा उदयपुर र खोटाङबाट चुनावमा उठ्ने गरेका संघीय समाजवादीका अध्यक्ष ओशक राई पनि प्रत्यक्षमा उठ्न हच्किए । अध्यक्ष राई, महासचिव राजेन्द्र श्रेष्ठलगायत संघीय समाजवादीका अधिकांश केन्द्रीय नेता प्रत्यक्षमा उठेननन् ।