राजश्व विभागर र कम्पनी रजिष्ट्रारमा एउटै कागजात पेश गरे पुग्ने

असोज, १८ काठमाडौ । आन्तरिक राजश्व विभागर र कम्पनी रजिष्ट्रारको कार्यालयमा सेवाग्राहीले एउटै कागजात पेश गरे पुग्ने भएको छ । कार्यालयपिच्छे एउटै कागजात बुझाउनुपर्ने झन्झटबाट सेवाग्राहीलाई मुक्ति दिलाउन यी दुई सरकारी अड्डाले अन्तर सूचना प्रविधिको विकास गरेका हुन् ।

 

सो अवसरमा अर्थमन्त्री शंकरप्रसाद कोइरालाले यस प्रविधिको शुभारम्भ गर्दै आफूले प्रशासक भएर काम गर्दा कम्पनी कार्यालयको बिग्रिएको सार्वजनिक छविबाट चिन्तित हुने गरेको भएपनि अहिले देखिएको सुधारले सन्तुष्ट बनाएको अनुभव सुनाउनु भयो ।

सरकारी कार्यालयहरुलाई कागजविहीन बनाउने अभियान अन्तर्गत दुई सरकारी कार्यालयले गरेको यो प्रयासलाई अब निरन्तरता दिादै लाने विश्वास व्यक्त गर्दै भन्नुभयो– ‘त्रिपुरेश्वर क्षेत्र उद्योग मन्त्रालय अन्तर्गतका निकायहरुको सिंहदरवार हो । त्यसैले सूचना प्रविधिलाई यी निकायमा विस्तार गर्न जरुरी छ । यसका लागि म तीनवटै मन्त्रालयको मन्त्रीका हैसियतले जुनसुकै सहयोग गर्न पनि तत्पर छु ।’

उद्योग मन्त्री समेत रहेका कोइरालाले प्रविधिको विकाससंगै दक्ष जनशक्ति बनाउनु पनि सरकारको कर्तव्य हो भन्दै अब त्यसतर्फको सुधारात्मक यात्रा शुरु गर्ने आश्वासन दिनुभयो ।

उद्योग सचिव कृष्ण ज्ञवालीले केन्द्रको सुधारले मात्र सुधारको प्रत्याभूति नदिने बताउादै यसलाई तल्लो निकायसम्म लैजानुपर्ने आवश्यकता औंल्याउनु भयो ।

आन्तरिक राजश्व विभागका महानिर्देशक टंकमणि शर्माले मतदाता नामावलीलाई आधार मानेर कर प्रणालीमा सुधार ल्याउन सके प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

अन्तर्राष्ट्रिय वित्तिय संस्थाका प्रतिनिधि लाउरा वाट्सनले सरकारी निकायहरु प्रविधिमैत्री बन्दै गएमा सेवाग्राहीहरुको गुनासो घट्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

कम्पनी कार्यालयका रजिष्ट्रार शंकर अर्याल, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारकाले निजीक्षेत्र र सरकारी निकायबीच काममा देखिने स्वामित्वबाट उपभोक्ताहरु लाभान्वित हुने बताउनु भयो ।

सोही कार्यक्रममा देशैभरि निजीक्षेत्रलाई सेवाकेन्द्र खोल्न दिने विषयमा कम्पनी रजिष्टारको कार्यालय र नेपाल वाणिज्य महासंघबीच सम्झौता भएको छ ।