टिकट वितरणका कारण प्रमुख तीन दलमा कलह

असोज, १७ काठमाडौं । आगामी ४ मंसिरमा हुने संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी सार्वजनिक गरेलगत्तै टिकट वितरण लिएर प्रमुख तीन दलमा कलह चुलिएको छ । पार्टी कार्यालयमै धर्नादेखि तोडफोडसम्मका घटना भएपछि तीनै दलभित्रको असन्तुष्टि छताछुल्ल भएको हो ।

विभिन्न क्षेत्रमा केन्द्रले तोकेका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी घोषणा, टिकट दिने निर्णय फिर्ता, पार्टी कार्यालय तोडफोड, पार्टी परित्याग, तालाबन्दीदेखि तलका कमिटीहरूले संस्थागत निर्णय अस्वीकार गर्नेसम्मका घटना भएका छन । निर्वाचन आयोगले प्रत्यक्षतर्फका उम्मेदवारी दर्ताका लागि तोेकेकै मितिमा प्रमुख दलमा कलहको घटना बढेको हो ।

केन्द्रको निर्णयलाई ठाडै अस्वीकार गर्ने प्रवृत्ति बढिरहे पनि त्यसलाई रोक्न तीनै पार्टीका नेतृत्व असफल देखिएका छन् । कतिपय स्थानमा त शीर्ष नेताहरूविरुद्ध नै कार्यकर्ताहरूले खुलेआम बागी उम्मेदवारीको घोषणा गरेका छन् । काठमाडौं क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसले युवा नेता गगन थापालाई उम्मेदवार तोकेपछि सोही क्षेत्रबाट यसअघिको संविधानसभामा निर्वाचित पूर्वसभासद् सुप्रभा घिमिरेले पार्टी परित्याग गरेकी छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी घिमिरेले आफूलाई अपमान गरेको र महिलाको सवालमा नेपाली कांग्रेस अत्यन्त अनुदार बनेको प्रमाणित भएको भन्दै बुधबार पार्टी त्यागेकी हुन् ।

संसदीय समितिले एकलौटी र गुटगत रूपमा निर्णय गरेर थापालाई टिकट दिएको भन्दै घिमिरेले काठमाडौं–४ बाटै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । त्यस्तै, काठमाडौंकै क्षेत्र नम्बर–२ मा प्रतिमा गौतमलाई केन्द्रले उम्मेदवार तोकेपछि कांग्रेस क्षेत्रीय समितिले पत्रकार सम्मेलन नै गरेर अस्वीकार गरेको छ । सिफारिस नै नभएको र बाहिरका व्यक्तिलाई उम्मेदवार तोकेको विरोधमा कांग्रेस क्षेत्रीय कमिटीका सभापति उपेन्द्र कार्की र सो क्षेत्रबाट गत संविधानसभामा उम्मेदवार बनेका दीपक कुइँकेललगायतले बुधबार पत्रकार सम्मेलन आयोजना गरी निर्णय अस्वीकार गर्ने घोषणा गरेका हुन् ।

उनीहरूले गौतमलाई बहिष्कार गर्ने जनाएर केन्द्रको निर्णयलाई नै ठाडो चुनौती दिएका छन् । कार्यकर्ताको योगदानलाई अवमूल्यन गर्ने गरी केन्द्रले उम्मेदवार तोकेको उनीहरूको आरोप छ । उता, काठमाडौं–१ मा एमाले स्थायी समितिले वरिष्ठ कलाकार भुवन केसीलाई उम्मेदवार बनाउने निर्णय फिर्ता लिएको छ । क्षेत्रीय कमिटीको चर्को दबाबपछि केसीलाई दिइएको टिकट फिर्ता गरिएको हो । क्षेत्रका कार्यकर्ताहरूको जुलुस पार्टी केन्द्रीय कार्यालयमै पुगेर निर्णय फिर्ता लिन दबाब दिएको थियो । एमाले केन्द्रीय निर्वाचन विभागका प्रमुख अग्नि खरेलका अनुसार केसीको स्थानमा विद्या न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

तर, न्यौपानेले भने सो क्षेत्रबाट प्राथमिकताका साथ सिफारिस गरिएका उम्मेदवार विदुर मैनालीलाई नै टिकट दिइनुपर्ने अडान लिएको स्रोतले जनाएको छ । ‘उहाँ (न्यौपाने)ले निर्णय अस्वीकार गर्नुभएको छैन, महिला उम्मेदवारको संख्या कम देखिएकाले उहाँलाई टिकट दिने पार्टीले निर्णय लिएको हो,’ खरेलले भने । पौडेलविरुद्ध बागी उम्मेदवारी घोषणा कांग्रेस उपसभापति रामचन्द्र पौडेले निर्वाचन लड्न लागेको तनहुँ–२ मा नेपाल तरुण दलका केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङगले बागी उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उपसभापति पौडेल युवाहरूको भावनाअनुसार अगाडि बढ्न नसकेको र भ्रातृ संगठनका प्रमुखलाई चुनावमा उम्मेदवारीबाटै वञ्चित गराएको भन्दै गुरुङले बागी उम्मेदवारी दिने घोषणा गरेका हुन् । आफ्नो पक्षमा समर्थन जुटाउन गुरुङ तनहुँको दक्षिणी क्षेत्रमा प्रचारमा जुटेका छन् । ‘युवाहरूको हकहितमा काम गर्न र जिल्लाको विकासलाई अगाडि बढाउन उम्मेदवार बन्न लागेको हुँ,’ गुरुङले भने ।

बिहीबार निर्वाचन आयोगमा उम्मेदवारी दर्ताका क्रममा १० हजारभन्दा बढी युवा आफ्नो समर्थनमा उत्रिने उनको दाबी छ । उपसभापति पौडेलको क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारीमा नाम सिफारिस भएका गुरुङलाई पौडेलले नै समानुपातिकमा समेत राख्न नदिएपछि बागी उम्मेदवारी दिने निर्णय गरेका हुन् । तनहुँ कांग्रेसको टिकट वितरणमा सहमति नभएपछि उपसभापति पौडेलसमेत तनावमा परेका थिए । पौडेलले सहमतिका साथ अगाडि बढ्ने प्रयास गरे पनि उनीप्रति जिल्लाका नेताहरू असन्तुष्ट रहँदै आएका छन् ।

तनहुँ–१ मा केन्द्रीय सदस्य शंकर भण्डारी, पूर्वकेन्द्रीय सदस्य गोविन्दराज जोशी, नेविसंघका पूर्वअध्यक्ष गोविन्द भट्टराई र पूर्वजिल्ला सभापति रघुनाथ पौडेल उम्मेदवारका आकांक्षी थिए । यस्तै, २ मा उपसभापति रामचन्द्र पौडेल, जिल्ला सभापति धुव्र वाग्ले, तरुण दलका केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङको नाम सिफारिस भएको थियो । ३ बाट पूर्वनेविसंघ अध्यक्ष प्रदीप पौडेल, महासमिति सदस्य जितप्रकाश आले, क्षेत्रीय अध्यक्ष महेश्वर भट्टराईको नाम सिफारिस भएको थियो ।

तनहुँमा धेरै नेताहरू भएका कारण विवादले उग्र रूप लिएपछि सहमति हुन सकेको थिएन । पार्टी उपसभापति पौडेललाई १ र ३ मा सहमतिसहित नाम सिफारिस गर्न संसदीय समितिले जिम्मा दिएको थियो । संविधानसभा निर्वाचनका लागि संसदीय समितिले तय गरेको उम्मेदवारको विरोध गर्दै असन्तुष्ट पक्षले बुधबार तनहुँ पार्टी कार्यालयमा ताला लगाएका छन् । यस्तै, धनकुटा कांग्रेसमा पनि उम्मेदवार चयनलाई लिएर विवाद चर्किएको छ । उम्मेदवार चयनमा असन्तुष्टि जनाउँदै दुवै क्षेत्रमा बागी उम्मेदवारी दिने घोषणा गरेका छन् । धनकुटा–१ बाट कमोट फागो र २ बाट अन्जना ताम्लीले बागी उम्मेदवारी दिने घोषणा गरेका हुन् । संसदीय समितिले पूर्वनिर्णय उल्ट्याएर अर्कैलाई टिकट दिएपछि बागी उम्मेदवार बन्ने निर्णयमा पुगेको उनीहरूको भनाइ छ ।

कांग्रेसले पहिलो चरणमा फागोलाई १ र अजितनारायण थापालाई २ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो तर गुटगत दबाबमा १ बाट फागोको नाम काटेर थापालाई पठाई २ बाट आनन्द सन्तोषी राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सो निर्णय आफूलाई मान्य नभएको फागोले बताएका हुन् । यस्तै, कपिलवस्तुमा पनि विवाद देखिएको छ । जिल्लाका लोकप्रिय नेतालाई टिकट नदिएको भन्दै युवाहरूले कांग्रेस पार्टी कार्यालय नै तोडफोड गरेका छन् । कपिलवस्तु २ बाट अतहर कलाम, ३ बाट राजु अर्याल, ४ बाट दीर्घनारायण पाण्डे र ५ बाट मंगलप्रसाद गुप्ताले टिकट नपाएपछि पार्टी कार्यालयमा आगजनी गरेका हुन् । यस्तै, कैलाली–१ डा। रणबहादुर रावललाई टिकट दिइएको भन्दै असन्तुष्ट पक्षले क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । एमाओवादी र एमालेको विवाद छताछुल्ल महेन्द्रनगर समाचारदाता सुरेश पन्तका अनुसार प्रत्यक्षतर्फको उम्मेदवार चयन प्रक्रियाप्रति असहमति जनाउँदै एकीकृत नेकपा माओवादी र नेकपा एमाले कञ्चनपुरमा चुलिएको विवाद सतहमै देखापरेको छ ।

कञ्चनपुर–२ बाट सिफारिस गरिएका कृपाराम रानाको स्थानमा महाकाली अञ्चल कमिटीले जिल्ला अध्यक्ष तारा लामा तामाङलाई उम्मेदवार बनाएको भन्दै एमाले कञ्चनपुरका निवर्तमान अध्यक्ष ईश्वरीप्रसाद खरेलसहित ९ जनाले राजीनामा दिएका छन् । खरेलसँगै राजीनामा दिनेमा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यत्रय खेम सुवेदी, लोकविक्रम थापा र जयराज पाण्डे, महाकाली अञ्चल सदस्यहरू राजेन्द्र रावल, रामचन्द्र नेपाल, भक्तबहादुर अधिकारी, रामदत्त जोशी र वीरबहादुर बुढाथोकी छन् । त्यस्तै, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालपुत्र प्रकाश दाहालकी कान्छी श्रीमती विना मगरलाई क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनाएको विरोधमा माओवादी कञ्चनपुरका संयोजक खड्ग बस्नेतले पनि राजीनामा दिएका छन् ।

तर, उनले उम्मेदवारीप्रति असहमत नभएर पार्टीलाई शुद्धीकरण गर्न पदबाट राजीनामा गरेको जनाएका छन् । यस्तै, उम्मेदवार घोषणामा काखापाखा गरेको आरोप लगाउँदै कञ्चनपुरको दोधारा–चाँदनीका माओवादी कार्यकर्ताहरूले आगामी ४ मंसिरमा हुने भनिएको संविधानसभाको निर्वाचनमा मतदान नगर्ने चेतावनी दिएका छन् । दोधारा–चाँदनीका माओवादी नेताहरूले बुधबार सदरमुकाममा पत्रकार सम्मेलन गरेर क्षेत्र नम्बर–४ मा भएको टिकट वितरणप्रति आपत्ति जनाउँदै यस्तो चेतावनी दिएका हुन् । उनीहरूले क्षेत्र नम्बर–४ बाट उम्मेदवार बनाइएका मोहन गिरीका पक्षमा जनमत नै नभएको जिकिर गर्दै निर्वाचनमा माओवादीको हार निश्चित भएको दाबीसमेत गरे । पत्रकार सम्मेलनमा माओवादी दोधाराका सेक्रेटरी करनबहादुर मगरले पार्टीले उम्मेदवार छनोटमा पुनर्विचार नगरेर पार्टीबाट राजीनामा दिने घोषणा गरे । बाँके एमालेमा पनि उम्मेदवारीलाई लिएर एमालेमा रडाको मच्चिएको छ ।

बाँके–३ मा सिफारिसमा नपरेका विजया धिताललाई उम्मेदवार बनाएपछि स्थानीय कार्यकर्ता आक्रोशित बनेका हुन् । उनीहरूले स्थानीय लोकप्रिय नेता पदम अर्याललाई उम्मेदवार बनाउन माग गर्दै पार्टी कार्यालयमै नेता थुनेका थिए । यस्तै, टिकट वितरणमा अन्याय भएको भन्दै सप्तरी एमालेमा विवाद चर्किएको छ । केही क्षेत्रमा जिल्लाको भावनाअनुसार उम्मेदवार नभएको भन्दै निर्णय सच्याउन असन्तुष्ट पक्षले माग गरेका हुन् । उनीहरूले पार्टीले निर्णय नसच्याए राजीनामा दिने घोषणा गरेका छन् ।