मन्त्रिपरिषदका अध्यक्ष रेग्मी आज स्वदेश र्फकने

असोज, १५ काठमाडौं । संयुक्त राष्ट्रसंघको ६८ औ महासभामा भाग लिन अमेरिका जानुभएका अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी आज स्वदेश र्फकने कार्यक्रम रहेको छ ।

उहाँ आज साँझ ८ बजे काठमाण्डौं आइपुग्ने कार्यक्रम तय भएको रेग्मीको निजी सचिवालयले जनाएको छ । महासभामा नेपालको उच्चस्तरीय सहभागिता जनाउन रेग्मी नेतृत्वको टोली अमेरिकाको न्यूयोर्क गएको थियो ।

रेग्मीले शनिबार साँझ महासभालाई सम्बोधन गर्नुभएको थियो । उहाँले अमेरिकामा रहँदा त्यहाँ रहेका नेपाली, राष्ट्रसंघका महासचिव बान की मुन, भारतीय प्रधानमन्त्री मनमोहन सिंह लगायतसँग भेटवार्ता गर्नुभएको थियो ।

उहाँले नेपालमा हुन लागेको संविधानसभा निर्वाचन र त्यसको तयारीका बारेमा राष्ट्रसंघका महासचिव र भारतीय प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।