चुनाव निकासका लागि हुनुपर्छ : केन्द्रीय सदस्य कोइराला

असोज, १५ काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले वैद्यलाई चुनावमा ल्याउन आगामी मंसिर ४ को चुनाव सार्नुपर्ने बताउनुभएको छ । मंगलबार विहान मण्डिखाटारस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै कोइरालाले भन्नुभयो- ‘मंसिर ४ गतेको चुनाव सारेर केही पनि हुँदैन, चुनावमा गएर रक्तपात गरेर के फाइदा ?’
चुनाव रक्तपातका लागि नभएर सबै समस्याको निकासका लागि हुनुपर्ने कोइरालाको भनाइ छ । ‘चुनाव निकासका लागि हुनुपर्छ, कसैलाई जंगलमा जाओ भनेर किन भन्ने ?’ वैद्य माओवादीलाई निर्वाचनमा सहभागी हुन नदिएको तर्फ संकेत गर्दै भन्नुभयो -’उनीहरुलाई उचालेर जंगल जाऊ भन्ने ?’ गिरिजाबाबुले जंगलमा रहेका माओवादीलाई लोकतान्त्रिक प्रक्रियामा ल्याएर द्वन्द्वबाट मुलुकलाई जोगाएको बताउँदै कोइरालाले भन्नुभयो-’यो नेपाली कांग्रेसको ठूलो सफलता हो ।’

अहिले चुनावमा आउँछु भन्ने शक्तिलाई चुनाव लड्न नदिएर शीर्ष नेताहरुले जंगल पठाउन खोजेको कोइरालाले गुनासो गर्नुभयो । फेरि रक्तपात भयो भने मुलुकले थेग्न नसक्ने उहाँले बताउनुभयो ।

नेताहरु विदेशीको इशारामा चले

कांग्रेस नेतृ कोइरालाले ठूला नेताहरु आफ्नो बुद्धिले नभई विदेशीको इशारामा चलेको आरोप लगाउनुभएको छ । ‘यिनीहरुलाई कहाँबाट इन्फरमेशन आउँछ थाहा छैन, तर आफ्नो बुद्धिले काम गर्नुपर्छ ।’ उहाँले भन्नुभयो, इन्फरमेशन त हामीलाई पनि आउँछ ।’

कांग्रेसमा पैसा खाएर उमेद्वार बनाइयो

नेपाली कांग्रेसको संसदीय बोर्डमा समेत रहनुभएकी नेतृ कोइरालाले पार्टीभित्र उमेद्वार छनौटमा पैसाको चलखेल भएको आरोप लगाउनुभयो । बोर्डले सिफरिस गरेको भन्दा बाहिरबाट उमेद्वार छनौट गरिएको र पैसा खाएर आफ्ना मान्छेहरुलाई उमेद्वार बनाइएको भन्दै आफ्नै पार्टीका नेताहरुको खरो आलोचना गर्नुभयो ।