एमालेको बहुमत आए मात्र संविधान बन्छः महासचिव पोखरेल

असोज, १३ काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी संविधानसभा निर्वाचनमा एमालेको बहुमत आए मात्र संविधान बन्नेमा जोड दिनुभएको छ ।  युवासंघ नेपाल, नेपाल खेलकुद महासंघ र अनेरास्ववियुले काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा आज संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले विगतको संविधामनसभा निर्वाचनमा एमाले तेस्रो पार्टी भएकै कारण संविधान बन्न नसकेको बताउनुभयो ।

लोकतान्त्रिक संविधान बनाउनका लागि एमालेलाई पहिलो पार्टी बनाउन अझ विशेष सक्रियता बढाउन कार्यकर्तालाई निर्देशन दिँदै महासचिव पोखरेलले भन्नुभयो– ‘निर्वाचनमा भाग लिने जनताको अधिकारमाथि कसैले धावा बोल्छ भने त्यसका विरुद्ध प्रतिकार गर्न पनि तयार हुनुपर्छ ।’

उहाँले चुनावको विरुद्धमा रहेका दलहरुलाई इङगित गर्दे नागरिकले आफ्नो प्रतिनिधि छान्ने अधिकारमाथि हमला हुन्छ भने त्यसको जवाफ पत्थरले दिन तयार रहनसमेत कार्यकर्तालाई निर्देशन दिनुभयो ।

एमालेले युवाहरुका लागि रोजगारीको समेत सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गर्दै महासचिव पोखरेलले युवाशक्ति एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नारायण सिलवाललगायतले संविधानसभा निर्वाचनमा युवाहरुको महत्वपूर्ण भूमिका रहनेमा जोड दिनुभएको थियो ।