सर्वदलीय सम्मेलनलाई चुनाव सार्ने रणनीतिको रुपमा प्रयोग नगर्न आग्रह

रुपन्देही,७ भदौं । नेपाली काग्रेसका नेता एंव पूर्व अर्थमन्त्री डा.रामशरण महतले सर्वदलीय सम्मेलनलाई चुनाव सार्ने रणनीतिको रुपमा प्रयोग नगर्न आग्रह गर्नुभएको छ । लामो समयदेखि मोहन बैद्य नेतृत्वको नेकपा माओबादी सहितको मोर्चाले गोलमेच सम्मेलनको माग गर्दै आएकोमा मंसिर ४ मै दोस्रो संविधान निर्वाचनका लागि गोलमेच सम्मेलनमा आफुहरुले सहमती जनाएको उहाले बताउनुभयो ।


नेकपा माओबादी मंसिर ४ मै चुनावमा सहभागी हुने पक्षमा देखिएकाले गोलमेच सम्मेलनका लागि नेपाली काग्रेसले समर्थन जनाएको नेपाल प्रेस यूनियन रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा.महतले बताउनुभएको हो ।निर्वाचन सार्ने र सरकार फेर्ने कुराका लागि गोलमेच सम्मेलनमा सहमती नगरिएको बताउदै डा. महतले बैद्य नेतृत्वलाई चुनाव भाड्ने रणनितिको रुपमा नलिन आग्रह गर्नुभएको हो ।
गोलमेच सम्मेलनले सहमति नै गर्छ भन्ने ग्यारेन्टी नभएको तर बैद्य नेकपा माओबादी पनि चुनावमा आउने भएकाले सहमतिको आशा पलाएको उहाको भनाई छ । उहाले मंसिर ४ मै चुनाव हुने जिकिर गर्दै काग्रेस चुनाव सार्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । अहिले सरकार परिवर्तन र चुनाव सार्ने अवस्था नभएको भन्दै यस्ता प्रस्ताव ल्याएर लफडा नगर्न बैद्य नेतृत्वलाई महतको सुझाव छ ।