निरौलाको पुस्तकसंगै छात्रवृत्ति वितरण

काठमाडौं (इमेल खबर संवाददाता)—

कलाकार एवं लेखक तिर्थ निरौलाले कला जागरण पुस्तक प्रकाशनमा ल्याएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले राजधानीमा शुक्रबार उनको पुस्तकलाई सावर्जनिक गरेको हो ।

कार्यक्रममा संस्कृतिमन्त्री रामकुमार श्रेष्ठले निरौलाको पुस्तकसँगै प्रतिष्ठाको ‘तेस्रो राष्ट्रिय ललितकला प्रदर्शनी (२०७०) को क्याटलग पनि सावर्जनिक गरे । सृजनात्मक कला छात्रवृत्ति प्रदान तथा बाढी पहिरो पीडितलाई आर्थिक सहयोग हस्तान्तरण पनि गरियो । तिर्थले दुई दशकदेखि प्रत्यक्ष रुपमा आफुले देखेको र भोगेको कलाकारिता, गतिविधि, अवस्था र भविष्यबारे पुस्तकमा चर्चा गरेको बताए ।

कार्यक्रममा प्रा.डा प्रेम कुमार खत्री, पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. श्री गोविन्द टण्डन, डा. रमेश ढुङ्गेलले पुस्तकबारे समिक्षा गरेका थिए । प्रतिष्ठानका कुलपति किरण मानन्धरले बाढीपिडित परिवारलाई आर्थिक सहयोगार्थ १ लाख ४२ हजार ४ सय ५५ रुपियाँ नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वालाई रकम हस्तान्तरण गरे ।

प्रतिष्ठानको वास्तुकला तथा सृजनात्मक (वैकल्पिक) कला विभागले १२ जना विद्यार्थीलाई १०—१० हजार रुपियाँको ‘सृजनात्मक कला छात्रवृत्ति’ प्रदान गरेको छ । उमेश थापा मगर, कुमार थापा, योगेश गुरुङ, रविन्द्र खनियाँ, सन्दिप न्यौपाने, रमेश कडायत, महेश वस्ताकोटी, कृष्णराज अधिकारी, शोभा त्रिपाठी, अनु लामा, नम्रता सिँह र सुस्मिता थापाले छात्रवृत्ति पाएका थिए ।