ब्यवसायमा बर्डफ्लुको सन्त्रास पोल्ट्री र ह्याचरीको करिब ७५ करोड लगानी जोखिममा

विनोद परियार

रूपन्देही / रुपन्देहीको चिल्हिया गाविस वडा न. ६ नागथान स्थित डम्बर बहादुर सुनचौरीको पोल्ट्रफर्ममा साउन १६ गते बर्डफ्लु भेटियो । निकै मेहनतले उत्पादन गरिएका कुखुराहरु बजार लैजान ठिक्क थियो । तर बर्डफ्लु भेटिएपछि सुनचौरीको लगानी वालुवामा पानी हालेजसै स्वाहा भयो ।

जिल्ला पशु सेवा कार्यालयले बर्डफ्लुको संक्रमण फैलन नदिनका लागि पोल्ट्रीफर्ममा रहेका ९ सय ४० वटा कुखुराहरु नष्ट गरेको हो ।कुखुरा नष्ट गर्ने बेलामा सुनचौरीले टाउको समात्दै भन्नुभएको थियो –‘अब त केहि होला भनेको आँखै अगाडि यतिका कुखुरा नष्ट गर्नुपर्‍यो ।’ नष्ट गरिएका कुखुराहरु कोही २ किलो त कोही ३ किलोसम्मका थिए । यदि यसलाई विक्रि गर्न पाएको भए ४ लाख जति आम्दानी हुन्थ्यो । धन्न सुनचौरीले २ वटा फर्म बनाएकाले बाँकी नष्ट गर्नुपरेन । सुनचौरीले २ वटा फर्ममा १२ सय कुखुरा पाल्नुभएको छ ।

अहिले सुनचौरी जस्ता पोल्ट्री ब्यवसाय गरेकाहरुको लगानी जोखिममा परेको छ । ऋणधन गरेर केहि होलाकी भनेर पोल्ट्रीफर्म सञ्चालन गरेकाहरु बर्डफ्लुकै कारण ब्यवसायबाटै पलायन हुनुपर्ने अवस्थामा पुगेका छन् ।

सरकारले पोल्ट्री फर्मको एउटामात्रै कुखुरामा बर्डफ्लुको संक्रमण फेला परेमा फर्मका सबै कुखुरा नष्ट गर्ने गरेको छ ।

लाखौं रुपैयाँ पर्ने कुखुरा नष्ट गर्दा सरकारले त्यसको एक तिहाई मात्रै क्षतिपूर्ती दिन्छ । अहिले सरकारले कुखुरा जतिसुकै किलोको होस् प्रतिगोटा १ सय २० र दानाको १० रुपैयाँ जोडेर १ सय ३० रुपैयाँ क्षतिपूर्ती दिदै आएको छ । रुपन्देहीमा १/२ सय देखि १/२ हजारसम्म कुखुरा पाल्ने पोल्ट्री फर्महरु रहेका छन् । चितवनपछि पोल्ट्री ब्यवसायीका लागि रुपन्देही अग्रभागमा आउछ ।

कुखुराको उत्पादनमा आत्मनिर्भर उन्मुख भएको अवस्थामा बर्डफ्लुको संक्रमण र बजारको अभावका कारण ब्यवसायिहरु पलायन हुने अवस्थामा पुगेका हुन् । पोल्ट्री ब्यवसाय संचालन गर्नेहरु किसान भएकाले पनि पटक पटक घाटा खाएर ब्यवसाय गर्न नसक्ने पोल्ट्री ब्यवसायि त्रिलोचन दाहालले बताउनुभयो । उहाँका अनुसार बर्डफ्लुले सबैभन्दा बढि मार आफुहरुलाई परेको बताउनुभयो ।‘कुखुरा नष्ट पनि किसानकै हुन्छ,त्यसमा पनि राज्यले सेवा सुविधा केहि दिएको छैन’ लुम्बिनी कुखुरा पालक संघ रुपन्देहीका सचिव समेत रहनुभएका दाहालले भन्नुभयो –‘त्यसमाथि क्षतिपुर्ती नगन्य छ ।’

कुखुरा उत्पादन लागत धेरै छ, दाना,औषधीको भाउ दिनदिनै बढेको छ यस्तो अवस्थामा तयार भएको कुखुरा समेत बर्डफ्लुको सन्त्रासले नबिक्दा साह्रै पिडामा परेको उहाँको भनाई छ । रुपन्देहीमा करिब २५ सय पोल्ट्रीफर्म संचालनमा छन् । तर जिल्ला पशु सेवा कार्यालयमा भने २ सय ९४ वटा पोल्ट्रीफर्म मात्रै दर्तामा छ । ब्यवसायिहरुका अनुसार रुपन्देहीमा पोल्ट्रीफर्ममा करिब ५० करोड लगानी छ ।

रुपन्देहीमा बर्डफ्लुको महामारी नदेखिएपनि छिमेकी जिल्ला नवलपरासी र चितवनमा प्रत्येक बर्षनै यसको असर डरलाग्दो गरि देखा पर्दा यहाँका ब्यवसायमा असर परेको हो । तयार भएका कुखुरा विक्रि हुन नसके एउटै पोल्ट्रीफर्म सञ्चालकलाई लाखौंको घाटा हुन्छ । बैंकले समेत आफुहरुलाई ऋण नदिदा ब्यवसाय दिनप्रतिदिन संकटमा परेको हो ।

‘पोल्ट्री सञ्चालकलाई घाटा छ,त्यो हामीले बुझ्छौं,तर बर्डफ्लुको महामारी फैलन नदिनका लागि फार्मका कुखुरा नष्ट गर्नेपर्छ’ जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका प्रमुख डा.लक्ष्मण ढकालले भन्नुभयो । उहाँका अनुसार रुपन्देहीमा अहिलेसम्म आफुहरुले समयमै सर्तकता अपनाउदा बर्डफ्लुको संक्रमण फैलीएको छैन ।

रुपन्देही कुखुराको मासुमा लगभग आत्मनिर्भर छ । तर,अहिलेको जस्तै परिस्थित बन्ने हो भने कुखुराको उत्पादन घट्ने संकेत देखा परेको छ । पशु कार्यालयका पशु विकास अधिकृत डा. प्रदीप शर्माका अनुसार जिल्लामा १४ सय ९ मेट्रिकटन दैनिक कुखुराको मासु उत्पादन हुन्छ । आन्तरिक खपत चाहि ८ सय ८० मेट्रिकटन छ ।

बाँकी छिमेकी जिल्लाहरुमा कुखुरा खपत हुन्छ । ‘हामीकहाँ लगानी डुब्यो,कुखुरा बिकेन भनेर गुनासो आउछ’ डा. शर्माले भन्नुभयो –‘लगानीबाटै पलायन हुनुभन्दा बर्डफ्लुको संक्रमणबाट जोगिनका लागि जैविक सुरक्षा अपनाउनुपर्छ ।’ कुखुराको आयातदेखि निर्यात अनि चल्ला ल्याउदा, खोरमा हुर्काउदा बाहिर पंक्षीहरुसंग सम्पर्क हुन नदिने,काम गर्दा सुरक्षित ड्रेस लगाउने जस्ता विधि अपनाएर उत्पादन गर्न किसान र पोल्ट्री ब्यवसायिहरुलाई शर्माको सुझाव छ ।

उहाँ भन्नुहुन्छ – ‘कुखुरा विरामी भईहाले पशु डाक्टरलाई खबर गर्नुस् ।’ हप्तादेखि अधिकांश पोल्ट्री फर्मले चल्ला हालेका छैनन । बर्डफ्लुको संक्रमण र हल्लाले गर्दा चल्ला नहालेको ब्यवसायीहरुले बताए । जिल्लाका २ सय ९४ पोल्ट्रीफर्मका कुखुराहरु अहिले विक्रि हुन मुस्किल भएको छ । छिमेकी जिल्ला नवलपरासीमा यसको असर बढ्ता देखिन थालेपछि रुपन्देहीमा पनि प्रभाव देखिएको हो ।

ह्याचरी पनि त्रसित :

चरा र कुखुरामा देखिने बर्डफ्लुको संक्रमणले गर्दा चल्ला,अण्डा र दाना उत्पादन गर्ने ह्याचरी ब्यवसायिहरु पनि नराम्रोसंग प्रभावित भएका छन् । पोल्ट्री ब्यवसायिहरुले कुखुरा नबिक्ने डरले फर्ममा चल्ला राख्नै छोडेपछि मार परेको ब्यवसायिहरुको भनाई छ । चल्ला,अण्डा र दानाका लागि आत्मनिर्भर उन्मुख रुपन्देहीमा बर्डफ्लुको हल्लाले ब्यवसायमा प्रभावित हुन पुगेको हो । पोल्ट्रीफर्महरुमा धमाधम बर्डफ्लुको संक्रमण देखापरेपछि नयाँ चल्ला राख्न छाडेका छन् ।

नेपाल ह्याचरी संघ लुम्बिनी शाखाका उपाध्यक्ष गोपाल टण्डन भन्नुहुन्छ –‘ अहिले उत्पादन भएका चल्ला विक्रि हुन गाह्रो भएको छ ।’ उहाँका अनुसार प्रत्येक हप्ताको आईतबार या सोमबारसम्म चल्ला विकाउनैपर्छ । यदि ती चल्लालाई खोरमा नहाल्ने हो पुरै घाटा हुन्छ । एक दिनमात्रै विक्रि नहुदा लुम्बिनीमा ३२ लाखसम्म घाटा हुने टण्डनले बताउनुभयो । रुपन्देहीमा ह्याचरीमा २५ करोडभन्दा बढि लगानी छ ।

रुपन्देही,कपिलबस्तु नवलपरासी बर्दघाटसम्म र पाल्पा दोभानमा गरि १३ वटा ह्याचरी सञ्चालनमा छन् । यी ह्याचरीहरुले अहिले चल्ला उत्पादनको मात्रालाई भारी मात्रामा कटौती गरेका छन् ।

‘अत्यन्तै रिक्सको ब्यवसाय हो ह्याचरी तर राज्यले खासै ध्यान दिएको छैन हिमाल ह्याचरीका सञ्चालक समेत रहनुभएका टण्डनले भन्नुभयो –‘यस्तै अवस्था हुने हो भने ब्यवसायबाट पलायन हुनुपर्ने अवस्था छ ।’ रुपन्देही कपिलबस्तु नवलपरासी र पाल्पाका १३ वटा ह्याचरीबाट दैनिक ८० हजार चल्ला उत्पादन हुदै आएको छ । तर यो मात्रा केहि दिनयता घटेको छ ।

‘हामीले उत्पादन गरेका चल्लामा कुनै पनि संक्रमण छैन’ टण्डनले भन्नुभयो – ‘हल्लै हल्लाले चल्ला विक्रि हुन छाड्यो ।’ लुम्बिनी अञ्चल पुरै र छिमेकी जिल्ला प्यूठान,पोखरा र कहिलेकाही चितवनसम्म चल्ला विक्रि गर्दै आएको रुपन्देहीमा अब भने लगानीको असुरक्षाका कारण उत्पादन घट्न थालेको छ । आफैले समेत रिक्सका कारण चल्लाको उत्पादन घटाएको गोपाल टण्डनले बताउनुभयो ।

हिमाल हेयाचरीको नामबाट चल्ला उतपादन गर्नुभएका उहाले पहिले हप्तामा २५ हजार चल्ला उत्पादन गर्नुहुन्थयो । तर अहिले हप्तामा ४ हजार मात्रै चल्ला उत्पादन गर्दै आउनुभएको छ । ‘कतिसम्म रिक्स लिएर काम गर्ने’ उहाले भन्नुभयो –‘अब नया ब्यवसाय गर्ने ।’

त्यसो त रुपन्देहीका ३ वटा ह्याचरी संचालन गर्न नसकेपछि बन्द भएका छन् । मंगलापुरको एभरेष्ट, खड्गवनगाईको हिमाली पोल्ट्री ह्याचरी र शंकरनगरको दिक्षिता ह्याचरी बन्द भएका हुन् ।

बेला बेलामा हुने बन्द हड्ताल, अनि बर्डफ्लु जस्ता रोगको संक्रमणका कारण ब्यवसाय असुरक्षित हुन थालेपछि ह्याचरीप्रति मानिसहरुको आकर्षण घट्न थालेको उनीहरुको भनाई छ ।

अन्नपूर्ण ईडष्ट्रिज प्रा.लि.का अर्का ब्यवसायि धातानन्द कंडेलले ब्यवसाय जोखिममा परेको बताउनुभयो । कंडेलले अहिले चल्ला उत्पदन गर्न बन्द गरेको बताउदै राज्यले समेत आफुहरुको ब्यवसायको सुरक्षा गर्न नसकेको बताउनुभयो ।

‘बर्डफ्लुको हल्ला मात्रै गरिन्छ’ उहाले भन्नुभयो –‘तर तथ्य पत्ता लगाएर निराकरण गर्दैन ।’ उहाँले बर्डफ्लुको बारेमा गाउ गाउमा सचेतनाको जरुरी रहेको बताउदै कुखुरा पालक किसान, मासु ब्यवसायि र उपभोक्ता सबैलाई सरल रुपमा बुझाउनुपर्ने बताउनुभयो । ‘ब्यवसाय जोखिममा परेको छ’ उहाँले भन्नुभयो ।

बर्डफ्लुको सन्त्रासले पोल्ट्री मात्रै नभई ह्याचरी ब्यवसायिलाई पनि छोएको छ । ठूला ह्याचरीहरु संचालनमा रहेको रुपन्देहीमा बर्डफ्लुकै हल्लाका कारण उत्पादन घटाउन बाध्य भएका छन् । ‘रुपन्देहीका ह्याचरीहरुमा जैविक सुरक्षा अपनाईएकाले सुरक्षित रहेको पशु कार्यालयको भनाई छ । प्रमुख डा. लक्ष्मण ढकालले आफुहरुले समेत ह्याचरी संचालकलाई राखेर बेलाबेलामा छलफल गर्ने गरेकाले सुरक्षित रहेको बताउनुभयो ।

रुपन्देहीमा कृषिमा पोल्ट्री र ह्याचरी सबैभन्दा राम्रोसंग फस्टाएको मानिन्छ । गाई,भैसि,बंगुर र बाख्रा पालनमध्ये कुखुरा पालनप्रति धेरैको रुचि र उत्साहजनक सहभागिता रहेको छ । तर पछिल्लो समयमा बर्डफ्लुको सन्त्रासले ब्यवसायबाटै पलयान हुने मनस्थिती बन्नु राम्रो होईन । यसतर्फ सम्बन्धित निकायले बेलैमा ध्यान नदिए कुखुरा,चल्ला र दाना उत्पादनमा आत्मनिर्भर उन्मुख रुपन्देहीको सान खस्कने विज्ञहरु बताउछन् ।

रुपन्देहीमा बर्डफ्लु :

राजधानी सहित देशभका विभिन्न ठाउमा बर्डफ्लु भेटिएपछि अहिले जताततै बर्डफ्लुको चर्चा चलेको छ । बिशेष गरि भारतसंग सिमा जोडिएका क्षेत्र बढ्ता जोखिममा पर्ने भन्दै सरकारले यसअघिनै भारतबाट पंक्षीजन्य बस्तुको आयातमा निषेध गरेको छ । सरकारले रुपन्देहीलाई पनि बर्डफ्लुको उच्च जोखिम जिल्ला भनेर भनेको छ ।

पशु सेवा कार्यालय रुपन्देहीका अनुसार यहाँ यहि साउन १६ गते चिल्हिया सहित गरि पाँच पटक बर्डफ्लु भेटिएको छ । शुरुमा पोखरभिनडीमा त्यसपछि पनि पोखरभिन्डीमै बर्डफ्लुको भाईरसक फेला परेको पशु विकास अधिकृत डा. प्रदीप शर्माले बताउनुभयो । त्यसपछि मर्यादपुर,मसिना र पछिल्लो पटक यहि साउनमा चिल्ििहयामा बर्डफ्लुको संक्रमण भेटिएको हो । शर्माका अनुसार रुपन्देहीमा समयमै सर्तकता अपनाईएकाले महामारीको रुपमा फैलन नपाएको बताउनुभयो । रुपन्देही पूर्ण रुपमा सुरक्षित नभएपनि भारतसंग सिमा जोडिएर पनि सुरक्षित रहेको कार्यालयको दावी छ ।

बरिष्ठ पशु चिकित्सक डा. लक्ष्मण ढकालका अनुसार पोल्ट्री फर्म र ह्याचरीमा जैविक सुरक्षा अपनाईएकाले जोखिम कम भएको हो । यद्यपि उहाले विभिन्न सेवाकेन्द्रलाई कतै बर्डफ्लुको संक्रमण देखा परे तुरुन्त पुग्न भनिएको उहाले बताउनुभयो ।

जिल्लाको सिमा क्षेत्रमा ससस्त्र प्रहरी,क्वारेन्टाईनलाई समेत चेकजाचमा कडाई गरिएको छ । पशु क्वारेन्टाईनका अनुसार साउनमा मात्रै १९ हजार २ सय चल्ला नष्ट गरिएको छ ।

मासु खादा सर्दैन

बर्डफ्लु मुख्यगरि चराचुरुङगीमा देखा पर्ने रुघाखोकी जस्तै रोग हो । यो रोग इन्फ्लुएन्जा जातिको भाइरसको कारण लाग्दछ । एकैपटक ठुलो संख्यामा पन्छीहहरु मर्ने भएकाले यसलाई महामारीको रुपमा लिने गरिएको हो । टाउको सुन्निने, सीऊर र लोती सुिन्नने र निलो कालो हुने जस्ता लक्षणहरु पंक्षीमा देखा पर्छ ।

मानिसमा मुख्यगरी यो रोग संक्रमित जीउदो पंछी, सुलीसँगको लसपसबाट सर्ने बरिष्ठ पशु चिकित्सक डा. ढकालले बताउनुभयो । उहाले मासु खाएर यो रोग सर्ने सम्भावना अत्यन्तै कम हुने भन्दै बर्डफ्लु लाग्यो भन्दैमा मासु खानै छोड्नु नपर्ने बताउनुभयो ।

कुखुरामा यसको भाईरस हुने भएकाले काट्दा,भुत्ल्याउदा यसको संक्रमण मानिसमा सर्न सक्ने भन्दै सुरक्षित भएका कुखुराको मासुलाई भल्भली उमालेर खादा केहि नहुने उहाले बताउनुभयो ।

उहाँका अनुसार ५६ डिग्री सेल्सियस तापक्रममा ३० मिनेट र ७० डिग्री सेल्सियसमा ३ मिनेटमा बर्डफ्लुको संक्रमण नष्ट हुन्छ । तर उहाँका अनुसार यो बर्ष गर्मियाममा यसको बर्डफ्लु देखा परेकाले अरुबेला भन्दा अहिले बढ्ता सर्तक रहनुपर्छ ।