रोनाल्डोले गरे प्रशिक्षक जिदानको प्रसंसा

साउन २८,एजेन्सी –  इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदानको प्रसंसा गरेका छन् ।

रोनाल्डोले स्पेनिस क्लब रियलमा रहदा प्रशिक्षकसँगको सम्बन्ध बारे डिएजेटएनसँग कुरा गर्दै जिदानको प्रसंसा गरेका हुन् । जिदानको नेतृत्वमा रियलमा रहदा आफुलाई विशेष महसुस हुने गरेको रोनाल्डोले बताए ।

’खेलाडीलाई चाहिने आत्मविश्वास आफूबाट मात्र होइन । उसको वरिपरिका खेलाडी र प्रशिक्षकबाट पनि आउँछ,’ पोर्चुगिज रोनाल्डोले भने, ’तपाई त्यस समूहको महत्वपूर्ण अंग हो भन्ने कुरा तपाईले महसुस गर्न जरुरी छ । र, जिदानले मलाई विशेष महसुस गराए ।’

पाँच पटकको बालोन डी’ओर विजेता रोनाल्डो सन् २०१८ मा रियलबाट इटालियन क्लब आएका थिए । रोनाल्डोले जिदानको प्रशिक्षणमा लगातार तीन सिजन च्याम्पियन्स लिग र एक पटक ला लिगा उपाधि जितेका थिए ।

रोनाल्डोले रियलमा रहदा जिदानले आफुलाई धेरै सहयोग गरेको समेत बताए । रोनाल्डोले जिदान निकै इमान्दार रहेको पनि बताए ।

’जिदानले मलाई निकै सहयोग गरे। म पहिलेबाटै उनलाई आदर गर्थे । तर, उहाँसँग काम गर्दा म अझ उनको बढी प्रसंशक भए,’ रोनाल्डोले थपे, ’उनले मलाई भन्ने गर्थे, ’क्रिस, आरामले खेल र आफ्नो खेल खेल । तिमि एक हौँ जसले फरक पार्नेछ ।’

रोनाल्डोले गत सिजन युभेन्ट्सबाट सिरी ’ए’ उपाधि जितेका थिए । लिगमा उनले २१ गोल गरेका थिए ।