स्क्रिन सेयर गर्दै भुवन र अनमोल, जुरायो ‘एन्टी हिरो’ ले

साउन २८,काठमाडौँ – अभिनेता भुवन केसी र उनका छोरा अनमोल केसी पहिलो पटकसंगै अभिनय गर्न लागेका छन् । यो अवसर जुराइ दिने फिल्मको नाम ‘एन्टी हिरो’ हो । सोमबार मात्र चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गरिएको छ ।

होम प्रोडक्सन द सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मको निर्माण भुवन केसीले नै गर्ने छन् । । तिहारपछि छायांकन सुरु गरिने सोचका साथ केही समयदेखि फिल्मको स्क्रिप्टमा धमाधम काम चलिरहेको छ ।

फिल्ममा अभिनेता अनमोल हिरोको भूमिकामा देखिने छन् भने भुवन खलपात्रको भूमिका निर्वाह गर्ने भएका छन् । उनले खलपात्रको भूमिका लागि केही महिनादेखि दाह्री समेत बढाइरहेका छन् । एक्सन लभस्टोरी बताइएको फिल्ममा अनमोल एक्सन तथा लबरब्वाईको भूमिकामा देखिनेछन् ।

एफडी कम्पनीले वितरण गर्ने फिल्मका लागि अहिले निर्देशकको खोजी भइरहे पनि फिल्मको निर्देशकमा प्रदीप भट्टराईको चर्चा भईरहेको छ । केही दिनमा निर्देशक र अभिनेत्रीको छनोट गरेर फिल्मको औपचारिक घोषणा गर्ने बताइएको छ ।

फिल्मलाई आउने नयाँ वर्षको अवसरमा प्रदर्शन गर्ने सोच रहेको छ । यस अघि भुवनले अनमोलसँग फिल्म क्याप्टेन र फिल्म होस्टेलको एक सिनमा सँगै अभिनय भने गरेका थिए ।