नेपालमा ‘कोरोना भाइरस’को खतरा कम

काठमाडौं, १२ माघ । अहिले समस्याका रुपमा देखिएको ‘कोरोना भाइरस’ विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नपालमा देखिएको नभएको चिकित्सकहरुले बताएका छन् । शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक डा शेरबहादुर पुनले प्रारम्भिक अध्ययनबाट चीन, अमेरिका लगायतका मुलुकमा देखिएको समस्या जस्तो नेपालमा धेरै कम खतरा रहेको बताएका हुन्न् ।

‘प्रारम्भिक नतिजामा चिन्ता गर्नुपर्ने विषय देखिएन । हाम्रोमा यो रोगका विषयमा धेरैलाई जानकारी नभएकोले पनि चिन्ता बढेको होकी ?’, उनले भने, ‘चीनमा अहिलेसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । तर मृत्यु हुनेमा सबै ७० वर्षभन्दा माथिका र दिर्घरोगी छन्न्, बालबालिका र युवाहरुमा ज्यानै जानेगरी संक्रमण देखिएको छैन ।’

अस्पतालका निर्देशक डा वासुदेव पाण्डेले शुरुमा स्वाईनफ्लुको जस्तै रुघाखोकी लाग्ने, ज्वरो आउने र स्वासप्रस्वासमा समस्या देखिने जस्ता लक्षण देखिन सक्ने बताए । यी लक्षणहरु देखिएपनि चिन्ता लिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । तर यस्ता लक्षण देखिएको खण्डमा चेकअपका लागि अस्पताल जान डा पाण्डेले आग्रह गरेका छन्न् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले शुरुमा चीनको वुहान प्रान्तमा देखिएको यो भाइरसको विस्तृत प्रकोप दर, यसका लक्षण र कति समयपछि असर गर्छ भन्ने कुराहरु अझै अध्ययनकै क्रममा रहेको बताए । विश्वभरी फैलिएको यो रोगका विषयमा धेरै प्रश्नहरु अनुत्तरित रहेको बताउँदै उनले नेपालमा फैलन सक्ने संक्रमणतर्फ मन्त्रालय सतर्क रहेको बताए ।

नेपालमा एकजनामा संक्रमण भेटिएको र उनको सम्पर्कका रहेका अन्य व्यक्तिहरुको सूची तयार गरी सबैको अवस्थाका विषयमा जानकारी लिने काम भइरहेको प्रवक्ता श्रेष्ठले बताए । चीनसँग जोडिएका नाकाहरु र त्रिभुवन विमानस्थलमा चीनबाट आउने सबैको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको उनले जानकारी दिए । कुनै व्यक्तिमा लक्षण देखिएमा शुक्रराज ट्रपिकल सेन्टर, पाटन अस्पताल लगायत अन्य निजी तथा सरकारी अस्पतालमा उपचारको व्यवस्था गर्ने गरी मन्त्रालय अगाडी बढेको उनको भनाइ छ ।