कात्तिक १, काठमाडौं – सरकारले गत साता मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको परिवारलाई एक–एक लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
सरकारले मृतकका परिवारलाई प्रति मृतक २५ हजार रुपैयाँ किरिया खर्च दिने समेत निर्णय गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।
‘मृतकका परिवारहरुलाई नेपाल सरकारको तर्फबाट प्रति मृतक २५ हजार किरिया खर्च र एक लाख आर्थिक सहायता उपलब्ध गराउन र घाइतेहरुको उपचार खर्च बापतको रकम भुक्तानीको व्यवस्था मिलाउने गरी प्रक्रिया आरम्भ गरिएको व्यहोरा जानकारी गराइन्छ,’ गृहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यही असोज २६ गते नेपालगन्जबाट मुगु गमगढी तर्फ गइरहेको भे १ ख ३१६७ नम्बरको बस मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–७ तपने खोलामा दुर्घटना भएको थियो ।
दुर्घटना हुँदा घटनास्थलमा २८ जना र उपचारको क्रममा अन्य ४ जना गरी कूल ३२ जनाको मृत्यु भएको थियो ।
उक्त घटनामा १३ जना घाइतेहरुको नेपाली सेनाको हेलिकप्टर तथा समिट एयरको जहाजबाट उद्धार गरी नेपालगन्ज लगिएको थियो, जहाँ अहिले उनीहरु उपचारत छन् ।