अठार वर्षदेखि भाडामा यातायात कार्यालय

असोज १८, बीरगञ्ज  – आफ्नै भवन नहुँदा मुलुकै व्यापारिक नगर वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय (सवारी) विगत १८ वर्षदेखि अस्तव्यस्त छ ।

]हालसम्म पनि भाडाको घरमा सञ्चालनमा रहेको कार्यालयमा पर्याप्त मात्रामा कार्य कक्ष (कोठा) नहुँदा सेवा प्रभाव समस्या भएको कार्यालयले जनाएको छ । कार्यालयका लागि आवश्यक कोठा नहुँदा साँघुरो भवनबाट जनतन सेवा प्रवाह गर्दै आइरहेको वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय (सवारी) का निमित्त प्रमुख कुशेश्वर शाहले जानकारी दिए ।

हाल कोठा अभावमा निमित्त कार्यालय प्रमुखका लागिसमेत छुट्टै कोठा छैन । निमित्त कार्यालय प्रमुख शाहले भने, “अन्य फाँटमै म पनि बसेर एउटा मात्र टेबल राखेर काम गर्दै आएको छु ।” दैनिक करिब एक हजारको हाराहारीमा यस कार्यालयमा विभिन्न कामका लागि सेवाग्राही आउने गर्दछन् । सीमित र निश्चित क्षेत्रफलमा रहेका कोठाबाट बल्लतल्ल सेवा प्रवाह पु¥याएको आएको कार्यालयको दाबी छ ।

दुई वटा भवनमा रहेको कार्यालयको मासिक भाडा रु ८४ हजार तिर्दै आएको छ । उक्त कार्यालय २०६० साल माघ १ गतेदेखि साविकको संरचनाअनुसार यातायात व्यवस्था कार्यालयको रुपमा स्थापना भएको थियो । स्थापना भएको १८ वर्ष बितिसक्दा पनि कार्यालय भवन निर्माण हुन नसक्दा साँघुरोगरी सेवा प्रवाह गर्दै आएको कार्यालयले जनाएको छ ।