उपकुलपति सहित १४ जना परे अख्तियारको फन्दामा

काठमाडौँ, ८ भदौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपतिसहित १४ जनालाई आज हिरासतमा लिएको छ ।  विश्वविद्यालय कोषको रकम हिनामिना गरी अनियमितता एवम् भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।  हिरासतमा लिइएकामा विश्वविद्यालयका उपकुलपति प्रा डा पदमलाल देवकोटा, रजिष्ट्रार डा ठगेन्द्रप्रकाश गिरी, सेवा आयोगका अध्यक्ष प्रा डा नवराज कँडेल, सदस्य प्रा डा श्रीरामप्रसाद उपाध्याय, विज्ञान तथा प्रविधि सङ्कायका डिन डा केशरसिंह राना, मानविकी तथा सामाजिक सङ्कायका डिन पीताम्बर ढकाल, व्यवस्थापन सङ्कायका डिन डा मस्तबहादुर गरम्जा र शिक्षा विज्ञान सङ्कायका डिन लालमणि आचार्य छन् ।  यस्तै उपप्राध्यापक गणेशबहादुर रावत, सुधन गौली, अनुगमन अधिकृत पारसराम गिरी, सहायक प्रशासक जीवनकुमार थापा र गगनसिंह बोहोरा तथा वरिष्ठ सहायक गणेशबहादुर केसीलाई पनि आजै हिरासतमा लिइएको छ ।  सो कार्यमा सङ्लग्नता देखिएका इन्जिनियरिङ सङ्कायका डिन रामचन्द्र अर्याल र लेखा नियन्त्रक कमल केसी हाल फरार रहेकाले खोजी जारी छ ।  उनीहरुले आफूविरुद्धको प्रमाण नष्ट गर्न सक्ने भएकाले आयोगको ऐन, २०४८ बमोजिम हिरासतमा राखी थप अनुसन्धान जारी राखिएको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।