हेलम्बुका किसानलाई मलमा अनुदान

– देवराज सुवेदी/रासस
वैशाख १७, काठमाडौ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका किसानले मल ढुवानीमा अनुदान पाउने भएका छन् । कृषि उत्पादन बढाउन किसानलाई पहिलो चरणमा तीन हजार बोरा रासायनिक मल ढुवानीका लागि अनुदान दिइने छ । ढुवानीको जिम्मा गाउँपालिकाका कृषि सहकारी संस्थाले लिनेछन् ।

वार्षिक कम्तीमा छ हजार बोरा रासायनिक मल खपत हुने गाउँमा बजार मूल्यभन्दा प्रतिबोरा रु ४५० कममा मल पाउने भएपछि किसानलाई रु २७ लाख सस्तो पर्ने भएको छ ।

गाउँपालिकाले प्रतिबोरा रु १३० अनुदान दिने भएपछि सहकारीले संस्थानकै मूल्यमा किसानलाई मल दिन तयार भएको छ । संस्थानको मूल्यअनुसार किसानले युरियामल अहिले बजारभाउभन्दा रु ४५० को हाराहारीमा सस्तोमा पाउनेछन् । हेलम्बुमा आलु, मुला, धान, कमै, कोदो, गहुँलगायत उत्पादन हुने गरेको छ । अहिले स्याउ खेती पनि हुन थालेको छ ।

गाउँ कार्यपालिकाको मङ्गलबारको बैठकले कोरोना भाइरसबाट बच्न जारी लकडाउनको अवस्थामा किसानलाई सुपथमूल्यमा मल उपलब्ध गराउने निर्णय गरेको हो । गाउँपालिकाका कृषि शाखा प्रमुख टोपबहादुर बरालले कृषकलाई दुई चरणमा मल उपलब्ध गराइने जानकारी दिँदै बर्खेबालीका लागि यही महिना र हिउँदे बालीका लागि कात्तिकको दोस्रो सातासम्म मल ढुवानीमा अनुदान दिइने बताए ।

स्थानीय रातोपुल कृषि सहकारी संस्थाले हेलम्बुमा रहेका सबै किसानका लागि रासायनिक मल ल्याउनेछ । हेलम्बुमा रहेका कृषि सहकारीको बैठकमा रातोपुल कृषि सहकारीले आफूले गाडीभाडा बराबरको रकम अनुदान पाउने भएपछि संस्थानकै मूल्यमा मल दिनसक्ने जनाएसँगै किसानले सस्तोमा मल पाउने गाउँपालिकाका अध्यक्ष नीमाग्याल्जेन शेर्पाले वताए ।