राहतमा अनियमितता भएको भन्दै स्थानीयले लगाए नगरपालिकामा ताला

बैशाख १७, सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिका–९ को कार्यालयमा स्थानीयवासीले ताला लगाएका छन् भने महादेवा गाउँपालिका–४ मा नाराबाजी गरेर राहत वितरण स्थगन गरेका छन् । राहत वितरणमा काखापाखा र अनियमितता भएको भन्दै कञ्चनरुप–९ को वडा कार्यालय र राहत राखिएको कोठामा वडावासीले मङ्गलबार ताला लगाएका हुन् । यस्तै महादेवा गाउँपालिका–४ मा राहत वितरणमा विभेद गरेको भन्दै नाराबाजी गरेपछि राहत वितरण स्थगन भएको हो ।

कोरोना सङ्क्रमणको विश्वव्यापी महामारी रोक्न गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन भएपछि गरिब तथा विपन्नलाई राहत वितरण गर्न कञ्चनरुप नगरपालिकाले वडा नं ९ लाई रु पाँच लाख चार हजार रकम पठाएको थियो । सर्वदलीय समितिको बैठकले ५०० घरधुरीलाई राहत वितरण गर्ने तयारी गरेको छ । सोमबारसम्म वडा नं ९ मा ४७५ घरधुरीलाई राहत वितरण गरिसकेपछि केही घरको नाम छुटेको भन्दै ताला लगाइदिएको वडाध्यक्ष लक्ष्मण यादवले जनाए ।

छाक टार्न समस्या भएका, अपाङ्गता भएका र विपन्न दलित समुदायले राहत नपाएकाले तालाबन्दी गरिएको स्थानीय भोला यादवले बताउनुभयो । सर्वदलीय समितिको निर्णयबमोजिम राहत वितरण भइरहेको जनाउँदै वडाध्यक्ष यादवले एकै परिवारका सदस्यहरू राहत पाउन अलग–अलग परिवार बनेर राहतको दाबी गर्न थालेकाले राहत पु¥याउन गाह्रो भएको बताए ।

एउटै परिवारमा रहेका चारसम्मले राहत दाबी गर्दै तालाबन्दी गरेको भन्दै वडाध्यक्ष यादवले पुनः सबै दलका प्रतिनिधि बसेर समस्या समाधान गरिने जानकारी दिए । कञ्चनरुप नगरपालिकाको सबै वडाले अत्यधिक नामावली पेश गरेपछि कञ्चनरुप नगरपालिकाले राहत वितरणका लागि रु ४३ लाख एक हजार र प्रदेश नं २ सरकारले पठाएको रु १५ लाख जोडेर राहत कोषमा रु ५८ लाख एक हजार रकम छुट्याएको छ ।

यसैगरी महदेवा गाउँपालिका–४ बलियास्थित वडा कार्यालयमा भेला भएका स्थानीयवासीले राजनीतिक आस्थाका आधारमा विभेद गरिएको तथा अतिगरिब एवं विपन्न परिवार छुटाएको भन्दै नाराबाजी गरेर राहत वितरण स्थगन गरेका छन् । अतिविपन्नको नाम समावेश हुनुपर्ने र मापदण्डअनुसार राहत वितरण हुनुपर्ने नाराबाजी गर्नेको माग छ ।

वडाध्ययक्ष जुगेश्वर साहले राहत वितरणमा काखापाखा नगरिएको दाबी गरे । कूल एक हजार २०० घरधुरी रहेको वडामा ५८० परिवारको नामावली सङ्कलन गरेर सोहीअनुसार वितरण गर्न लाग्दा केही व्यक्तिले अवरोध पु¥याएको उहाँले बताउनुभयो । छुटेका गरिब, विपन्नलाई पछि राहत दिने प्रतिबद्धता जनाए पनि होहल्ला गरी अशान्ति मच्चाएकाले तत्काल राहत वितरण स्थगन गरिएको उनले बताए ।

फाइल तस्बीर

रासस