द्रुत डाइग्नोस्टिक परीक्षण कार्यमा तीव्रता

वैशाख ८, काठमाडौ – विश्वमा महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमण भए नभएको पत्ता लगाउन सिन्धुपाल्चोकमा द्रुत डाइग्नोस्टिक परीक्षण ९आरडिटी० गर्ने कार्यमा तीव्रता आएको छ ।

चैत्र महिनाभित्र विदेशबाट घर फर्केका व्यक्तिलाई लक्षित गरी हालसम्म २३७ जनाको परीक्षण गरिएकोमा सबैमा नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताए ।

तीन नगरपालिकासहित १२ स्थानीय तहमा हाल आरडिटी थालिएको र परीक्षण गर्न आउने क्रम जारी रहेको छ । जिल्लामा हाल कोही पनि आइसोलेसन वार्डमा रहेका छैनन् । कोरोना भाइरस सङ्क्रमण आशङ्कमा स्वास्थ्य जाँच गर्न आएका आठ जनालाई शुरुमा भर्ना गरिएकामा उनीहरु सबैको नमूना पठाउँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना नभएको पुष्टि भएपछि घर पठाइएको छ । विदेशबाट आएका र आफन्तसहित प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा र चौतारा अस्पतालमा गरी आठ जनालाई आइसोलेसन कक्षमा राखिएको थियो ।

हाल चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौर, मेलम्ची, बाह्रबिसे, सुनकोशी र त्रिपुरासुन्दरी गाउँपालिकासमेतमा २१ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।