कास्कीमा २१ हजार परिवारलाई राहत वितरण

वैशाख ६, काठमाडौ – कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले आह्वान गरेको लकडाउनका कारणले प्रभावित जिल्लाका २० हजार ८९७ परिवारलाई राहत विरतण गरिएको छ । जिल्लाका चार स्थानीय तहले वडा कार्यालयमार्फत लकडाउनबाट प्रभावित साँझ बिहान चुलो बाल्न असमर्थ दैनिक ज्यालादारी मजदुर, श्रमिक तथा असाहाय परिवारलाई राहत वितरण गरेका हुन् ।

भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले ३३ वटै वडामार्फत १९ हजार २२० परिवारलाई राहत प्रदान गरिएको जनाएको छ । लकडाउनपछि अतिविपन्न, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेको चुलो निभ्न नदिन लाभग्राही छनोट गरी राहत वितरण गरिएको बताइन्छ । महानगरले चार वा सोभन्दा बढी सङ्ख्या भएको परिवारलाई फूल प्याकेज र तीन जनाको परिवारलाई आधा प्याकेज राहत उपलब्ध गराएको छ ।

त्यसैगरी लकडाउनको समयमा खाद्यान्नको अभावमा महानगरपालिकाभित्र कोही पनि भोकभोकै नपरुन् भनेर पोखरा महानगरपालिकाले ‘क्विक रेस्पोन्स’ टोली बनाएर राहत वितरणसमेत शुरु गरेको छ । राहत दिन महानगरले रु दुई करोड जम्मा गरेर कोष स्थापना गरेको छ भने प्रदेश सरकारले रु एक करोड उपलव्ध गराएको छ । महानगरको कोषमा निजी क्षेत्रबाट समेत अहिले रु ३० लाख जम्मा भइसकेको छ ।

जिल्लाको मादी गाउँपालिकाले पहिलो चरणमा ६५२ परिवारलाई राहत वितरण गरेको छ । राहतमा प्रतिपरिवार २५ केजीको एक बोरा चामल, दाल, चिनी र नुन एक केजीका दरले रु दुई हजार बराबरको खाद्यान्न वितरण गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए । गाउँपालिकाले चुलो बाल्न असमर्थ परिवारलाई राहत दिन रोकथामका लागि रु १० लाख बजेट विनियोजन गरेर प्रकोप व्यवस्थापन कोष खडा गरेको थियो । मादीमा राहतका लागि सुपर मादी हाइड्रोले रु १२ लाख ७६ हजार बराबरको खाद्यान्न सहयोग गरेको थियो ।

माछापुच्छ«े गाउँपालिकाले ६२५ विपन्न परिवारलाई राहत वितरण गरेको छ । विपन्न र ज्यालादारी मजदूरका परिवारलाई राहत वितरण गरिसकिएको गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङले जानकारी दिए। पाँच जना सदस्य रहेको परिवारलाई ३० केजीको एक बोरा चामल, दुई केजी दाल, एक लिटर टेल, एक पोका नून, एक पोका बेसार तथा साबुनको ‘फुल प्याकेज’ विरतण गरिएको बताइन्छ । त्यसैगरी दुई सदस्य रहेको परिवारलाई १५ केजी चामल, एक केजी, दाल, तेल, नून र बेसारको ‘हाफ प्याकेज’ उपलव्ध गरिएको बताइन्छ । पाँच जना भन्दा बढी भएको परिवारलाई ‘डेढ प्याकेज’ प्रदान गरिएको छ ।

राहतका लागि प्रदेश सरकारले उपलव्ध गराएको रु पाँच लाख तथा गाउँपालिकाले स्थापना गरेको रु २५ लाख बजेटको विपद् व्यवस्थापन कोषबाट राहत वितरण भइरहेको बताइन्छ । गाउँपालिकाले स्थापना गरेको कोषमा हाल विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग जम्मा भइरहेको छ । त्यसैगरि रुपा गाउँपालिकाले ४०० परिवारलाई पहिलो चरणमा राहत वितरण गरिएको प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेलले बताउनभुयो । उनीहरुलाई रु दुई हजार बराबर एक बोरा चामल, दुई केजी दाल तथा एक पोका तेल वितरण गरिएको थियो । पाँच स्थानीय तह रहेको जिल्लामा अन्नपूर्ण गाउँपालिकाले भने हालसम्म राहत वितरण गरेको छैन । भविष्यमा अहिलेभन्दा ठूलो सङ्कट आउन सक्ने भन्दै अन्नपूर्णले अहिले राहत नदिएको गाउँपालिका अध्यक्ष युवराज कुँबरले बताए । आगामी दिनमा राहत आवश्यक परिवारलाई वितरणका लागि अहिले गाउँपालिकाले ७०० मूरी कोदो खरीद गरेको र राहत स्वरुप कोदो विरतण गरिने उनले जानकारी दिए ।