कात्तिक २५, काठमाडौं – विराटनगर महानगरपालिकाको सडकमा बेसहारा ब्यत्तिहरुलाई उद्धार अभियान थालेको छ ।
विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा तिनटोलियमा स्थापना भएको मानवसेवा आश्रमस्थलमा अहिले आठ जना बेसहारा मानिसलाई उद्धार गरेर उनीहरुलाई उचित बास, खाना र उपचारको प्रबन्ध मिलाइएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिएका छन् ।
विराटनगर महानगरपालिकाको ट्राफिक चोकस्थित नमस्कार होटलको अगाडि विगत दुई वर्षदेखि मागेर जीवनयापन गरिरहेका नाम र ठेगाना खुल्न नसकेका एक मानिसलाई आइतबार उद्धार गरिएको छ ।
बेसहारा ती मानिसलाई उद्धार गर्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरलाई अगामी मङ्सिर महिनाभित्रमा बेसहारा सडक मानवमुक्त बनाउने घोषणा गरेका छन् ।
उनले आइतबार विराटनगरस्थित ग्लोबल बैंकको अगाडिबाट एक मानसिक रोगी बेसहारा महिलालाई उद्धार गरेर आश्रमलाई जिम्मा लगाएका छन् ।
उद्धारमा प्रमुख पराजुली, उपप्रमुख इन्दिरा कार्की, प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम, सञ्चारकर्मी र आश्रमका टोली संलग्न थिए ।
सो आश्रममा १०० जना मानिसलाई व्यवस्थापन गर्न सकिने र यसभन्दा बढी भएमा महानगरपालिकाले जग्गा खोजेर एक व्यवस्थित भवन बनाइदिने आश्वासन प्राप्त भएको अध्यक्ष अधिकारीले जानकारी दिए ।
(रासस)
