तिहार आजबाट शुरु, आज कागको पूजा गरि मनाइदै

कार्तिक १२ , काठमाडौँ –  नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ । तिहारको पहिलो दिन आज कागको पूजा गरिँदैछ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ ।

आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ ।

आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

तिहारको दोस्रो दिन कुकर पूजा, तेस्रो दिन कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, चौथो दिन गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३७ र म्हपूजा अर्थात् आत्मपूजा एवम् तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाईटीका लगाई तिहार पर्व मनाइन्छ ।

यस वर्ष कात्तिक १६ गते मध्याह्न ११ बजेर ५२ मिनेटमा भाईटीकाको साइत उत्तम रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ ।