ड्रोनले बढायो सुरक्षा चुनौती

साउन २४,काठमाडौं – नेपाली आकाशमा मानवरहित स्वचालित विमान ड्रोनको अनधिकृत प्रवेशसँगै सुरक्षा र गोपनीयतामा गम्भीर चुनौती थपिएको छ।

प्रहरीले वैशाखयता नियन्त्रणमा लिएका १० मध्ये पाँच विदेशी नागरिकले नेपालका विभिन्न स्थान ड्रोनबाट लिएका दृश्य शंकास्पद पाइएका छन्।

तिनमा निषेधित र अति गोप्य क्षेत्र तथा क्रियाकलापका तस्वीर र दृश्य रहेको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता डीआइजी माधव जोशीले ड्रोनको प्रयोगले आकाश मात्र नभई राष्ट्रिय सुरक्षामा समेत चुनौती थपिएको बताए। ‘राज्यले केही स्थान र क्रियाकलाप गोप्य राखेको हुन्छ,’ उनले भने,‘यसरी लिएका तस्वीर र दृश्य गलत नियतबाट प्रयोग हुन सक्ने सम्भावना रहन्छ।’

गृह मन्त्रालयले गत कात्तिकमा ‘ अनम्यान एरियल उडान सम्बन्धी कार्यविधि २०७२ ’बनाएपछि प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ। तिनले नेपाली सेनाको मूख्यालय जंगी अड्डादेखि मन्त्रीनिवास हरिहरभवनसम्मका तस्वीर लिएको प्रमाण रहेको प्रहरीको दाबी छ।

मन्त्रालयको कार्यविधिअनुसार ड्रोन उडाउन नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिनुपर्छ, उडानका बेला सुरक्षाकर्मीको उपस्थिति अनिवार्य छ।