सबस्टेसन नबन्दा भारतबाट थप बिजुली असम्भव

साउन २४,काठमाडौं – निर्माणाधीन २२० केभीको ढल्केबर सबस्टेसन निर्धारित समयमा पूरा नहुने भएपछि भारतबाट थप बिजुली ल्याउन असम्भव देखिएको छ।

नेपाल र भारतबीच थप बिद्युत आयात गर्ने सहमति भएपनि पुसभित्र सबस्टेसनको काम सम्पन्न गर्ने लक्ष्य पूरा नभएकाले आगामी हिउँदमा पनि लोडसेडिङ बढ्ने अवस्था सिर्जना भएको छ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा तत्काल ८० मेगावाट र डिसेम्बरदेखि थप १२० मेगावाट विद्युत ल्याउने सम्झौता भएको थियो। तर, सबस्टेसनको अभावमा बिजुली ल्याउन समस्या हुने देखिएको हो।

सबस्टेसन निर्माण गरिरहेको ठेकेदार कम्पनीले डिसेम्बरभित्र निर्माण गर्न नसक्ने जानकारी नेपाल विद्युत प्राधिकरणलाई गराइसकेको छ। यसको विकल्पमा अघि बढाउन लागिएको मोबाइल सबस्टेसन निर्माणमा समेत समय लाग्ने भएकाले विद्युत आयात थप जटिल बनेको छ।

सम्झौताअनुसार विद्युत आयात नगरेपनि नेपालले कबोल गरेअनुसार आयातीत बिजुलीको मूल्य अनिवार्य तिर्नुपर्ने हुन्छ। तर यसको मूल्य भने तय भइसकेको छैन।