मुलुकको आर्थिक चुनौती सामना गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने – उपप्रधानमन्त्री महरा

साउन २१, काठमाडौँ – उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको आर्थिक चुनौती सामना गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिसँग आज अर्थमन्त्रालयमा भएको छलफलमा उहाँले निजी क्षेत्रसँग सहकार्य गर्दै मुलुकको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान गर्ने बताउनुभयो ।

निजी क्षेत्रको नेतृत्वमा मुलुकको आर्थिक विकास प्रक्रियाले गति लिएकाले यही क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । महासङ्घका अध्यक्ष पशुपति मुरारकाका अनुसार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री महराले सरकार, निजी क्षेत्र एकअर्काका सहयोगी भएकाले मिलेर काम गर्ने वचन दिनुभएको छ ।

“सरकारले ल्याउने आर्थिक वृद्धिको कार्यक्रममा हातेमालो गरेर अगाडि बढ्न महासङ्घ तयार रहेको हामीले अर्थमन्त्रीलाई जानकारी गरायौँ, उहाँले आफू सबै पक्षको साथ र सहयोगमा अगाडि बढ्न तयार रहेको बताउनुभयो”– अध्यक्ष मुरारकाले भन्नुभयो ।

अध्यक्ष मुरारकाको नेतृत्वमा महासङ्घका उपाध्यक्ष शेखर गोल्छा, उद्योगी तथा व्यवसायी सौरभ ज्योति, अञ्जन श्रेष्ठलगायतले अर्थमन्त्री महराको सफल कार्यकालको शुभकामनासमेत दिनुभएको थियो ।