नेपालको विकासमा चीन र भारतलाई सहभागी हुन ओलीको आग्रह

साउन २१, काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँंग नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईले आज भेटी नौ महिना सरकारको नेतृत्व गर्दा नेपाल र चीनबीच द्विपक्षीय दीर्घकालीन हितका विषयमा भएका महत्वपूर्ण सम्झौताको कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री ओली निवास बालकोटमा भएको भेटवार्ताका क्रममा उहाँले नेपाल र चीनबीच ‘कनेक्टिभिटी’, नेपालका विकासमा चिनियांँ लगानी र सहयोगलाई द्विपक्षीय समझदारीमा अघि बढाइएको र त्यसका सकारात्मक परिणाम आइरहेको समेत बताउनुभयो ।
नेता ओलीले आफ्नो कार्यकालमा नेपाल र चीनबीच पारवहन तथा यातायात लगायत ऐतिहासिक सम्झौता भएकामा सन्तोष लागेको र तिनले नेपालको विकासलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
ओलीले नेपालको विकासमा चीन र भारतलाई उत्तिकै महत्वका साथ सहभागी हुन आग्रह गरिएको र सन्तुलनका आधारमा वैदेशिक सम्बन्ध अघि बढाइएको बताउँदै चीनसँंगका सम्झौता र समझदारी नेपालको हितमा छ भन्नुभयो ।
यसअघि आजै नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले पनि अध्यक्ष ओलीसँंग भेटी नेपाल र बेलायतबीचको सम्बन्ध सुमधुर रुपमा अघि बढेकामा अध्यक्ष ओलीलाई धन्यवाद व्यक्त गर्नुभएको ओलीका प्रेस सहयोगी चेतन अधिकारीले जानकारी दिनुभयो ।