बहुमत सदस्यद्वारा हमाल निर्विरोध

साउन ६,काठमाडौं – निकै ठूलो विवादका बीच नेपाल टेबल टेनिस संघको छैठौं साधारणसभामा उपस्थित बहुमत सदस्यले पूर्व वरिष्ठ प्रशिक्षक बृजेन्द्र हमालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

राष्ट्रिय खेलकुद परिषद्ले खटाएको तीन सदस्यीय निर्वाचन कमिटीले बहुमत सदस्यको माग बमोजिम निर्वाचन नगराई स्थगित गरेर हिँडेपछि लैनचोरस्थित होटल लाफामा राति निर्वाचन भएको थियो।

देशव्यापी रूपमा २६ जिल्लाबाट आएका प्रतिनिधिहरूको बहुमत सदस्यहरूको रोहवरमा सम्पन्न निर्वाचनमा उपाध्यक्षमा चुमन शाक्य र निलम श्रेष्ठ, महासचिवमा कुवेरप्रसाद सिंह, सचिवमा राजेन्द्र दुलाल, कोषाध्यक्षमा जयन्त बास्तोला, सदस्यमा प्रशान्त श्रेष्ठ, अभिषेक ढुंगाना, पुरुषोत्तम सुवेदी, नवीनबहादुर सिंह र लक्ष्मी गौतम पौडेल निर्विरोध भएका छन्।

यसअघि संघको साधारण सभाको उद्घाटन विहान १० बजे राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशव बिष्टले गरेका थिए।

संघका निवर्तमान अध्यक्ष चतुरानन्द बैधले कार्यसमितिबाट निर्णय नै नगराई बुधबार निर्वाचनको दिन १४ वटा जिल्ला संघ थप्ने विवादास्पद निर्णयलाई अगाडि सारेपछि संघका बहुमत सदस्यले विरोध गरेका थिए। यसैलाई आधार बनाउँदै परिषद्बाट खटिएको निर्वाचन कमिटीको टोली निर्वाचन स्थगित गर्ने निर्णय गर्दै पन्छिएको थियो।

‘कुनै पनि संघमा साधारणसभाको प्रतिनिधि नै अन्तिम निर्णयकर्ता हुने गर्छन्। निर्वाचनमा भाग लिन आएका बहुमत सदस्यले निर्वाचन जुन पनि हालतमा गर्नु प¥यो भनिसकेको अवस्थामा पन्छिन मिल्दैन,’ विवादका बीच निर्वाचित अध्यक्ष हमालले भने, ‘हामीले साधारण सभाबाटै नयाँ निर्वाचन कमिटी गठन गरेर निर्वाचन गरायौं। ८२ सदस्यीय साधारण सभा सदस्यमा ५८ जतिले निर्वाचनमा भाग लिए।’

यसअघि टेबल टेनिस संघको निर्वाचन लैनचोरस्थित तालिम तथा प्रशिक्षण केन्द्रमा गर्ने भनिएको थियो। तर, बैधले कसैलाई थाहा नदिई १४ वटा नयाँ जिल्ला संघ आफ्नो रोहवरमा गठन गरेको जनाउ दिएपछि विवाद चुलिएको उनकै कमिटीका महासचिवसमेत रहेका कुवेरप्रसाद सिंहले जानकारी दिए। बैधको पक्षमा लबिङ गर्न अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीका महासचिव टेन्डी लामा उपस्थित थिए।