त्रिपालभित्रको बास

साउन ६,जुम्ला – घर भत्कँदा पुरिन नसकेर धन्नै बाँच्यो जीवन। जीवन त बाँच्यो तर यसलाई निरन्तरता दिन निकै कठिन भएको छ।’ यो पीडा चन्दननाथ नगरपालिका–२ जुम्लाका दुधकला कुलालको हो।

गत वर्षको भूकम्पले कुलालको घर चर्केको थियो। गरिबीका कारण उनका परिवारले घर मर्मत गर्न सकेनन्। ुत्यही चिरा परेको घरमा एक वर्षदेखि उनीहरुको बास थियो। आफ्नो दिनचर्या त्यही जीर्ण घरमा काट्दै आएका उनीहरु एक सातादेखि त्रिपालको बास बस्न बाध्य छन्। यही असार मसान्ततिर परेको भारी वर्षाले कुलालको घर भत्कियो। संयोगवशः घर भत्कँदा हामी परिवार बाहिर रहेछौँ, घर पूर्णरुपले क्षति भयो, भगवान्का दयाले हामी बाँच्यौँ,ुकुलालले भने।

त्रिपालभित्र बसिरहेका कुलाल परिवारलाई बासको पीडा त छँदैछ, बिहान खाए बेलुका गाँस के जुटाउने भन्ने चिन्ताले दिनहुँ पिरोल्न थालेको छ। दिनभरि परिवारका लागि खान जोहो गर्न दैनिक ज्यालादारी काम गर्दै आएको उनले बताए।

तथापि त्यही ज्यालाले बिहान बेलुकी खान पुर्याउन हम्मेहम्मे भएको उनको भनाइ छ। कुलालले यतिबेला राहतका लागि जिल्ला प्रशासन कार्यालय जुम्लामा निवदेन दिएका छन्। प्रजिअ रुद्रप्रसाद पण्डितले निवेदन आफूकहाँ पुगिनसकेको बताए। यद्यपि उनले सरकारले अप्ठ्यारोमा परेका र गरिब वर्गका निम्ति काम गर्ने भन्दै कुलाल परिवारका निम्ति सहयोग गरिने बताए।