विकास बजेटबाट सवारी सुविधा ः सचिवले बाइक लिए, गाउँ गएनन्

असार ३०,काठमाण्डौ – नल्लुका स्थानीयबासीले गाविसको ३ लाख रुपैयाँ बजेट माथिल्लो डाँडामा खेर गइरहेको मुहानको पानी सञ्चय गर्न ट्यांकी निर्माण गरे। स्थानीयबासी गाविस सचिवले गाउँको विकास बजेटबाट मोटरसाइकल किनेपछि गाउँमा सचिव आउलान् अनि हिसाब फर्छ्योट गरौंला भनि पर्खिरहे। तर सचिव आएनन्।

आर्थिक वर्ष समाप्त हुन लाग्दासमेत नआएपछि स्थानीयबासी सचिव खोज्दै सहर धाउन बाध्य भए। आधा घण्टामा गाउँमै सम्पन्न हुने कामका लागि एक दिन खर्चनुपरेको गाउँलेको दुखेसो छ।

हिसाव फछ्र्योटका लागि सचिव खोज्दै जिविस धाएका स्थानीय रामबहादुर थिङ भन्छन्,‘गाविस सेवा प्रवाहलाई छिटो र छरितो र थप प्रभावकारी बनाउन सचिवले सरकारी सुविधामा किनेको मोटरसाइकलको सदुपयोग गरेनन्।’

उनी भन्छन्, नल्लु राजधानीबाट त्यति टाढा पनि छैन। ‘सडक गाउँसम्मै कालोपत्रे भइसकेको छ,’उनले भने,‘मोटरसाइकलबाट सजिलैसँग् पुग्न सकिने भएतापनि सचिव नआउँदा स्थानीयबासी मर्कामा परेका छन्।’

सुरुमा मानिखेलका मानबहादुर तामाङ पनि सेकेन्ड डाँडासम्म पुग्ने सडकको निर्माण कार्य सम्पन्न भएको हिसाव फर्छ्योट गर्न गाउँमा सचिव आउलान् भनी बसेका थिए।

असारको अन्तिमसम्म पनि कार्यालय आउन मोटरसाइकल खरिद गरेका गाविस सचिव नआउँदा हिसाव फर्छ्योटका लागि सचिव खोज्दै सहर आउन बाध्य बने।