बुहारीको हत्यारा पत्ता लगाउन माग

काठमाडाँै, २५ असार – मृत अवस्थामा फेला परेकी बुहारी रामदुलारी रानाको हत्यारा पक्राउ गर्न परिवारले सरोकार भएका निकायसँग माग गरेको छ ।

मृतकको परिवार र अधिकारकर्मीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा गत जेठ २२ गते मृत अवस्थामा फेला परेकी रानाको हत्यारा पक्राउ गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका–१ चम्फापुरकी विटो राना (मृतककी सासू)ले जेठ २२ गते मृत फेला परेकी बुहारीको हत्यारा पक्राउ गरी सार्वजनिक गर्न अनुरोध गर्नुभयो ।

अपराधी पहिचान गर्नका लागि स्थानीय प्रहरीले ढिलासुस्ती गरेको भन्दै राना परिवार आफ्नी बुहारीको हत्यारा छिटोभन्दा छिटो सार्वजनिक गरियोस् भन्ने माग गर्न काठमाडौँ आएको विटोको भनाइ छ ।

सासू विटोले जेठ १८ गते राति स्थानीयवासी प्रकाश मल्ल र उनका परिवारका सदस्यले बुहारी र आफूहरुमाथि आक्रमण गरेर घरबाट भाग्न बाध्य बनाएको र २२ गते बुहारीको शव नजिकैको खेतमा फेला परेको बताउनुभयो ।

घटनाबारे राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोगलगायत सरोकार भएका निकायमा समेत ज्ञापनपत्र बुझाइसकिएको पीडित पक्षको भनाइ छ ।