एक महिनाअघि वेपत्ता भएका शिक्षक अझै फेला परेनन्

असार २४, धनकुटा – आफन्तको मलामी गएका धनकुटाको चानुवाका एक शिक्षक एक महिनायता बेपत्ता छन्। स्थानीय वीरेन्द्र प्राविमा अध्यापन गराउने चानुवा–१ रुपटारका ४७ वर्षीय भीमबहादुर चापागाईं एक महिना बितिसक्दा पनि अझै फेला नपर्दा परिवारमा चिन्ता र अन्यौल छाएको छ।

रूखबाट लडेर आफन्त १३ वर्षीय रेशन चापागाईंको मृत्यु भएपछि मलामी जान भनी गत जेठ १८ गते शिक्षक चापागार्इं अरुणघाट गएका थिए। डालेघाँस काट्ने क्रममा रूखबाट लडेर गम्भीर घाइते भएका रेशनको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो। मृत्युपश्चात् दाहसंस्कारका लागि लेगुवाघाटमा मृतकको शव लगिएको थियो।

शिक्षक चापागाईं पनि आफन्त पर्ने रेशनको दाहसंस्कारका लागि अपराह्न घाटतर्फ गएका हुन्। तर उनी घाट नै नपुगी बाटैबाट बेपत्ता भए। बेपत्ता भएको एक महिना बितिसक्दासम्म पनि चापागाईंका बारेमा कुनै अत्तो–पत्तो नभएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब निरीक्षक दिनेश अधिकारीले बताए। उनका अनुसार शिक्षक चापागाईं अरुणघाटबाट करिब एक किलोमिटर माथिसम्म पुगेकोे स्थानीयवासीले देखेको भए पनि त्यसपछि भने सम्पर्कविहीन छन्।

प्रहरीले हुलियासहित सबै ठाउँमा खोजतलास गर्दा पनि उनको अझै पत्तो लाग्न नसकेको अधिकारीले बताए। मलामी गएका शिक्षक बेपत्ता भएपछि स्थानीयवासी र आफन्तसँग सोधपुछ गरी प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। अन्य स्थानमा पनि खोजतलासको काम भइरहेको छ। बेपत्ता चापागाईंका श्रीमती, दुई छोरी र एक छोरा छन्।