अक्षरांक पद्धति विषयमा भ्रममा नपर्न परीक्षा नियन्त्रकद्वारा आग्रह

चैत १५, भक्तपुर– परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले यस वर्षदेखि प्रवेशिका परिक्षामा लागू हुने लेटर गे्रडिङ प्रणाली अर्थात अक्षारांक पद्धतिबारेमा भ्रममा नपर्न आग्रह गरेका छन् ।
रफत सञ्चार क्लवले आयोजना गरेको साक्षात्कारमा उनले यो वर्षबाट पहिलो पटक सुरु हुन लागेको गेडिङ पद्धतिका विषयमा धेरै भ्रम सिर्जना भएको बताउँदै त्यस्तो भ्रममा नपरी ढुक्क भएर परीक्षाको तयारी गर्न र परीक्षा दिन प्रशिक्षार्थीलाई आग्रह गरेका हुन् ।
गे्रडिङ पद्धतिले विद्यार्थीको कार्यक्षमतामा समेत प्रभावकारीता ल्याउने भएका कारण विद्यार्थीको कार्यमूल्यांकनका लागि यो पद्धति नेपालको शिक्षा प्रणालीमा उपयुक्त भएको उनले बताए ।
प्रशिक्षार्थीले तराई आन्दोलन र भूकम्पले प्रभाव पारेता पनि प्राध्यापक तथा शिक्षकहरुले अन्य समयमा पनि अध्यापन गराएर त्यसलाई पूर्ति गरेकाले गुणास्तरमा कुनै समस्या नभएको उनले बताए । विभिन्न संचारमाध्यमबाट थप पाठपत्र जारी गरेको बताउँदै उनले विभिन्न सहयोगी पुस्तिकामार्फत अध्यापन गराइएकाले पढाइको स्तरलाई असर नगरेको दावी गरे ।
यो वर्षको परीक्षामा ६ लाख ५ सय ८३ जना परीक्षार्थी रहेको बताउँदै उनले देशभर १ हजार ९ सय ४३ परीक्षा केन्द्र कायम गरिएको र ७२ हजार ८ सय ९६ कर्मचारी तथा प्रहरी परिचालन गरिएको जानकारी दिए । परीक्षामा सबैभन्दा बढी काठमाडौंमा ९५ परीक्षाकेन्द्रमा ३६ हजार ८ सय ८६ परिक्षार्थीे र सबैभन्दा कम मनाङमा एक मात्र परिक्षाकेन्द्रमा ६९ जना परिक्षार्थी रहेको उनले बताए ।