सुरक्षित महिनावारीका लागि एनआरएन क्यानडाको सहयोग

फागुन २, काठमाडौं—नेपालमा सुरक्षित महिनावारी कार्यक्रम सञ्चालनका लागि एनआरएन क्यानडाले आर्थिक सहयोग गरेको छ ।
सेवा सञ्चार गुल्मी मार्फत महिलाहरुमा सुरक्षित महिनावारी कार्यक्रम सञ्चालनका लागि एक लाख ६२ हजार रुपैयाँ सहयोग गरेको हो ।
कृषि उपभोक्ता डवली काठमाडौंमा आयोजित एक कार्यक्रममा एन आर एन क्यानडाका सदस्य माधव गजुरेलले संस्थाका अध्यक्ष गंगा खड्कालाई उक्त रकम हस्तान्तर गरे ।
मध्य र सुदुर पश्चिमका जिल्लामा सुरक्षित महिनावारी अभियान चलाउनका लागि उक्त सहयोग गरीएको गजुरेलले बताए ।
रकम ग्रहण गर्दै संस्थाकी अध्यक्ष खड्काले विद्यालयहरुमा पुगेर अभिमूखिकरण कार्यक्रम गर्नका लागि र स्यानेटरी प्याड तथा डिस्पोज गर्ने व्यवस्था गरीने कार्यक्रम रहेको बताईन् ।
गुल्मीमा महिनावारी भएको समयमा महिलाहरुलाई नछुने भएको भन्दै अलग्गै राख्ने गरिन्छ । नियमित रजस्वलाको क्रममा महिलाहरुलाई स्थानीय रुपमा छुवाछुतको रुपमा हेर्ने रुढिवादी समस्यालाई परिवर्तन गर्न सेवा सञ्चार भन्ने संस्थाले काम गर्दैआएको छ ।
यस्तै गजुरेलले भूकम्पबाट क्षतिग्रस्त दोलखाको क्षामति उच्च माध्यमिक विद्यालयलाई पनि ४३ हजार ९ सय ५२ रुपैयाँ सहयोग गरे । सहयोग रकम ग्रहण गर्दै विद्यालयका प्रतिनिधी शंकर सिवाकोटीले सहयोग रकम बन्दै गरेको भूकम्प प्रतिरोधात्मक भवनमा खर्च गरीने बताए । उक्त विद्यालयमा ५० लाख रुपैयाँमा भूकम्प प्रतिरोधी भवन बन्दै छ ।