मधेश आन्दोलन र नाकाबन्दीको समस्या छिटो समाधान गर्न माग

पुस १३, काठमाडौँ— नेपाल प्राध्यापक सङ्घले मुलुकमा जारी मधेशको आन्दोलन र त्यसले निम्त्याएको समस्यालाई कुटनीतिक पहलबाट समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

सङ्घको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलनरत पक्ष र सरकारले मानवअधिकारका न्यूनतम मूल्य र मान्यतालाई उल्लङ्घन नहुने गरी आफ्नो भूमिका अगाडि बढाउन र आन्दोलनलाई अतिवादतर्फ नभई सिर्जनात्मक सोँच र समन्वयको बाटोमा अग्रसर गराउन आग्रह गरेको हो ।

मधेश आन्दोलन र भारतको नाकाबन्दीका कारण मुलुकमा सबै खाले अभाव र कालोबजारीले दिनप्रति दिन आक्रान्त पार्दै गइरहेको परिपेक्षमा जिम्मेवार पक्ष अझ गम्भिर र संवेदनशील भएर कुटनीतिक ढङ्गबाट समस्या समाधान गर्नुपर्नेमा सङ्घले जोड दिएको छ ।

यसैगरी विगतमा विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्त गर्दा राजनीतिक भागबन्डाका आधारमा भएकाले विश्वविद्यालयको प्राज्ञिक मूल्य र मान्यतामा ह्रास आएको मात्र नभई राष्ट्रिय अन्तर्राष्ट्रिय छवि समेत धमिलो हुन गएकाले यस्तो अवस्थामा पदाधिकारी छनोट गर्दा प्राज्ञिक प्रखरता, प्रशासनिक दक्षता, दूरदृष्टि भएका क्षमतावान् ओजस्वी व्यक्तिको नियुक्ती हुनुपर्ने माग गरेको छ ।

यही पुस १ गते रामजानकी मन्दिरमा पुजा अर्चना गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको दुव्र्यवहारप्रति सङ्घले भत्र्सना गर्दै उक्त घटनाको दोषीमाथि आवश्यक कार्वाहीको माग समेत गरेको छ ।