सामुदायिक विद्यालयका शिक्षकले चाडपर्वमा पनि तलब पाएन

कार्तिक १८, लहान – सिरहा जिल्लास्थित सामुदायिक विद्यालयका शिक्षकले चाडपर्वको मुखमा पनि तलब पाउनबाट वञ्चित भएका छन् ।

संयुक्त मधेसी मोर्चाद्वारा विगत ८१ दिन जारी आमहडतालका कारण सिरहाका सामुदायिक विद्यालयका प्रावि, निमावि र माविका करिब दुई हजार ६०० शिक्षकले दसैँ, दीपावली र छठ पर्वको मुखमा तलब पाउनबाट वञ्चित भएका हुन् ।

तलब नपाएकाले दसँै त खल्लो भयो भयो दीपावली र छठ पर्व पनि त्यस्तै हुने हो कि भन्ने चिन्ता बढेको शिक्षकहरुले बताएका छन् । लगातारको आमहडतालले दीपावली र छठसम्म पनि यही अवस्था रहने हो भन्ने शिक्षकको हाल बेहाल हुने अखिल नेपाल शिक्षक सङ्गठन सिरहाका अध्यक्ष शिवराज यादवले भन्नुभयो–‘‘दसैँको मुखमा तलब नपाउँदा साहु महाजनसँग ऋण लिएर दसैँ मनाए, दीपावली र छठमा पनि तलब नपाए अवस्था बेहाल हुन्छ ।”

आन्दोलतनरत मोर्चाका कार्यकर्ताले तलब खुवाउने कोष तथा लेखा नियन्त्रक कार्यालय, जिल्ला विकास समिति र जिल्लास्थित बैंक तथा वित्तीय संस्थासमेत बन्द गराएका कारण तलव पाउन नसकेको उहाँको भनाइ छ । चाडपर्वको मुखमा जिल्लाका सम्पूर्ण शिक्षकले तलब खान नपाएकाले उकुसमुकुसको अवस्थामा रहेको सिरहाको अयोध्यनगर कशहास्थित माविका शिक्षक शत्तिशकुमार दत्तले बताउनुभयो ।

“यतिको दिनसम्म शिक्षक सेवामा लागियो तर यस्तो अवस्था कहिले भएको थिएन्”, शिक्षक दत्तले भन्नुभयो–‘‘चाडपर्वको मुखमा तलब नपाउँदा घरपरिवार पनि चलाउन समस्या भइसक्यो, चाडपर्वको त रौनकता नै शिक्षकहरुका लागि हराइसकेको छ ।”

लगातारको आमहडतालका कारण जिल्लास्थित सामुदायिक विद्यालय बन्द रहेकाले यस वर्ष विद्यार्थीको पढाइ पूरा हुन नसक्ने भएकाले शान्ति क्षेत्र घोषणा गरिएका विद्यालय बन्द गर्न नहुने शिक्षकको भनाइ छ । सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले मोर्चाका कार्यकर्ताले कोलनिका र जिल्ला विकास समितिमा तालाबन्दी र कर्मचारीलाई धम्की दिएपछि तलब खुवाउन नसकेको स्वीकार्दै दीपावलीमा तलब खुवाउन आप्mनो ठाउँबाट प्रयासरत रहेको बताउनुभयो । रासस