वीरगन्जमा कर्फ्यु जारी, रामआशिषको शव परिवारले बुझ्यो

 

कार्तिक १८, वीरगन्ज – सुरक्षा संवेदनशीलताका कारण स्थानीय प्रशासनले सोमबारदेखि वीरगन्जमा लगाउँदै आएको कर्फ्यु बुधबार पनि कायमै छ ।
स्थिति तनावपूर्ण बनेपछि पर्सा प्रशासनले बीरगन्जको मितेरी पूलदेखि उत्तर तर्फ पर्साको सिमानासम्मको मुख्य सडक, बाइपास सडकखण्ड, पावर हाउस चोकदेखि राधेंमाई सडकखण्ड र बीरगन्ज बजारमा कर्फ्यु आदेश जारी गरेको हो ।
प्रशासनले कर्फ्यु जारी राखेपनि बिहानैदेखि बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल रहेको छ ।
मुख्य चोकहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । यसैबीच सोमबार प्रहरीको गोली लागेर मृत्यु भएका भारतीय नागरिक रामआशिष रामको शव मंगलबार साँझ परिवारले बुझेका छन् ।
मोर्चाका कार्यकर्ताले मंगलबार पनि प्रदर्शन गरेका छन् । स्थानीय प्रशासनले लगाएको कर्फ्युको अबज्ञा गर्दै मधेसी मोर्चाका कार्यकर्ताले दिनभर बीरगन्जको नगवा, छप्कैया र माइस्थानमा सडक अवरुद्ध गरी प्रदर्शन गरेका हुन् ।
नगवा, छप्कैया र माइस्थानमा मंगलबार प्रहरी र प्रदर्शनकारीबीच पटक पटक झडप समेत भएको थियो ।