बलले लागेर अर्का क्रिकेटरको मृत्यु

असार २३, काठमाडौँ – वेलायतमा लिग म्याचका क्रममा बलले लागेर एक क्रिकेट खेलाडीको मृत्यु भएको छ। बलले छातीमा लागेका बब्लान पाथमान्थन, २४ को मृत्यु भएको बीबीसीले जनाएको छ।

वेलायतको सुरेमा भएको ब्रिटिस तमिस् क्रिकेट लिगमा उनी मेनपे पेरिस स्पोर्ट्स क्लबका लागि ब्याटिङ गरिरहेका थिए। आइतबार लङ्ग डिट्टेन रिक्रिएसन मैदानमा भएको खेलमा बलले छातीमा लागेपछि उनी ढलेका थिए। मेडिकल टोलीले उनको स्थिति गम्भीर भएको भन्दै थप उपचार आवश्यक रहेको निस्कर्ष निकालेको थियो। सो प्रयोजनका लागि एयर एम्बुलेन्स बोलाइए पनि पछि चोटका कारण उनको मृत्यु भएको थियो।
उनी खेल्ने मेनपे पेरिस क्लबले एक विज्ञप्ति जारी गर्दै उनको मृत्युले क्लब स्तब्ध भएको उल्लेख गरेको छ। गत नोभेम्बरमा अष्ट्रेलियाको स्थानीय प्रतियोगिताका क्रममा ब्याट्सम्यान फिलिप ह्युजको बलले लागेर सिड्नीमा निधन भएको थियो।